खबर पूर्वाञ्चल
कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार चिसो हावा, शरीरमा पानीको कमी (डिहाइड्रेसन), रक्त नलीहरू सङ्कुचित हुनु र मांसपेशी कडा हुनाले जाडोमा टाउको दुखाइ बढ्ने गरेको हो ।
जाडोमा तिर्खा कम लाग्ने भए पनि शरीरलाई पानीको आवश्यकता उत्तिकै हुने र पानी कम हुँदा टाउको दुखाइ पहिलो सङ्केतका रूपमा देखिने चिकित्सकको भनाइ छ ।
यस मौसममा माइग्रेन र साइनसका बिरामीहरू थप प्रभावित हुने गरेका छन् । विशेष गरी मोटरसाइकल चालक, वृद्धवृद्धा, उच्च रक्तचापका बिरामी र लामो समय मोबाइल–कम्प्युटर चलाउनेहरू उच्च जोखिममा रहेका छन् । डा। खड्काले बारम्बार टाउको दुख्ने, बान्ता हुने, दृष्टि धमिलो हुने वा ज्वरो आउने जस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिन आग्रह गरे ।
टाउको दुखाइबाट बच्न पर्याप्त पानी पिउन, घाँटी र कान छोपिने गरी न्यानो लुगा लगाउन, बिहानको घाम ताप्न र हल्का व्यायाम गर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।