खबर पूर्वाञ्चल
चार होम आइसोलेसनसहित मोरङका विभिन्न अस्पतालमा उपचारका क्रममा ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चार महिला र ११ पुरुषको रहेका छन् ।
विराटनगर महानगरपालिका–१३ की ५३ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । आज दिउँसो २ः३५ बजेतिर मृत्यु भएकी उनलाई जेठ १ गते कोरोना सङ्क्रमण पुष्टि भएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए ।
विराटनगर–१४ का ६२ वर्षीया पुरुषको पनि दिउँसो होम आइसोलेसनमा मृत्यु भएको छ । पिसिआर परीक्षण गराउँदा वैशाख २९ गते रिपोर्ट पोजिटिभ आएका उनको दिउँसो २ बजेतिर मृत्यु भएको हो ।
महानगरपालिकाका अनुसार विराटनगर–१७ की ५३ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । वैशाख ३१ गते कोरोना पुष्टि भएकी उनको हिजो साँझ ७ः३५ बजेतिर मृत्यु भएको हो ।
मोरङको रंगेली नगरपालिका–७ का ५० वर्षीया पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । कोरोना पुष्टि भएर घरमै बसेका उनको हिजो साँझ ७ बजेतिर मृत्यु भएको हो । रंगेलीमा कोरोना संक्रमणबाट मृत्यु भएको पहिलो हो ।
मोरङको बूढीगङ्गा गाउँपालिका–१ का ७५ वर्षीया पुरुषको सोमबार राति ९ः१० बजेतिर मृत्यु भएको छ । उनलाई वैशाख २९ गते कोरोना पुष्टि भएको थियो ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा चार सङ्क्रमितको मृत्यु भएको छ । सर्लाहीका ३० वर्षीया पुरुषको आज विहान २ः२० बजेतिर मृत्यु भएको हो । उनलाई उपचारका लागि वैशाख ३० गते भर्ना गरिएको थियो ।
वैशाख २९ गते भर्ना गरिएका सुनसरीको हरिनगरा–५ का ७० वर्षीया पुरुषको दिउँसो १२ः३० बजेतिर मृत्यु भएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार हिजो उपचारका लागि भर्ना गरिएकी विराटनगर–१५ की ५८ वर्षीया महिलाको विहान ७ः३० बजेतिर मृत्यु भएको छ ।
विराटनगर–४ का ५४ वर्षीया पुरुषको हिजो साँझ मृत्यु भएको छ । उनलाई उपचारका लागि जेठ २ गते भर्ना गरिएको दाहालले बताए ।
मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ । उपचारका लागि वैशाख २७ गते भर्ना गरिएका विराटनगर–१३ का ५५ वर्षीया पुरुषको दिउँसो १२ः५ बजेतिर मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले बताए ।
उनका अनुसार सप्तरीको सप्तकोशी नगरपालिका–८ की ४० वर्षीया महिलाको बिहान ४ बजेतिर मृत्यु भएको छ । मृत्यु हुने महिला सप्तरीको सप्तकोशी नगरपालिकाकी उप–प्रमुख आशा चौधरी हुन् । उपचारका क्रममा उपचारको अवस्थामा उनको आज विहान मृत्यु भएको हो ।
विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार चौधरी सात महिनाकी गर्भवती समेत रहेकी थिइन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो । ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको थियो ।
कोरोना पुष्टि भएपछि भने थप उपचारका लागि विराटमा भर्ना गरिएको हो । सात महिनाकी गर्भवती रहेकी चौधरीको पेटबाट तीन दिनअघि मात्रै बच्चा बाहिर निकालिएको थियो ।
पेटमा भएको बच्चाका कारण थप असहज भएपछि निकालेर बचाउने प्रयास गरिएको भए पनि सम्भव हुन नसकेको देवले दावी गरे । आईसीयूमा उपचाररत चौधरीको अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो ।
उपचारका लागि वैशाख २९ गते भर्ना गरिएका विराटनगर–१६ का ७८ वर्षीय पुरुषको आज विहानका राति १ बजेतिर विराटमै मृत्यु भएको छ ।
विराटनगरको न्युरो अस्पतालमा विराटनगर–१७ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको मृत्यु हिजो राति ८ः३० बजेतिर भएको अस्पतालले जनाएको छ ।
विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार उपचारका लागि वैशाख ३० गते भर्ना गरिएका धनुषाको जनकपुरका ६१ वर्षीय पुरुषको विहान ५ः३० बजेतिर मृत्यु भएको हो ।
उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएका मोरङको रंगेली नगरपालिका–५ का ४७ वर्षीय पुरुषको दिउँसो १२ः४५ बजेतिर मृत्यु भएको राजवंशीले बताए । उनका अनुसार उपचारका लागि जेठ २ गते भर्ना गरिएका सप्तरीको राजविराजका ३५ वर्षीय पुरुषको पनि दिउँसो १२ः३० बजेतिर मृत्यु भएको छ ।