खबर पूर्वाञ्चल
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका लागि साविक उपविजेतासमेत रहेको सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको थियो । लुम्बिनीले इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध ४ विकेटको जित निकाल्दै दोस्रो क्वालिफायर यात्रा तय गरेको हो ।
प्रतियोगितामा विराटनगरले लिग चरणमा दोस्रो स्थान हासिल गर्दै प्लेअफ यात्रा तय गरेको थियो । लुम्बिनी भने चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।
लुम्बिनीसँग विराटनगरले लिग चरणमा ५ विकेटका हार बेहोरीसकेको छ । आजको खेलमा विराटनगरले त्यसको बदला लिँदै फाइनलमा पुग्ने योजना बनाउने छ ।
फाइनल प्रवेशका लागि निर्णायक खेल दुवैका लागि गर या मरको स्थिति रहेका कारण आजको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुने तालिका छ ।
प्रभाव पार्न सक्ने खेलाडी
विराटनगरका लागि टप अर्डरमा फाफ डुप्लेसी, साम हिजलेट र मार्टिन गप्टिलको प्रदर्शन नै यस खेलमा पनि महत्वपूर्ण हुनेछ । मध्यक्रम ब्याटिङमा बसिर अहमद क्रुसियल बन्न सक्छन् ।
बलिङमा कप्तान सन्दीप लामिछानेले राम्रो गर्न सक्छन् । ८ खेलमा १५ विकेट लिएका उनी प्रतियोगिताकै दोस्रो सर्वाधिक विकेट लिने बलर समेत हुन् । पावरप्लेमा पेस बलर मर्चेन्ट डे लाङले साथ दिनेछन् जसले १० विकेट लिएका छन् ।
यता लुम्बिनीका लागि भने पछिल्लो समय शेर मल्ल शानदार लयमा छन् । बुधबारको खेलमा ३ विकेट लिएका उनले ८ खेलमा विकेट संख्या १३ पुर्याएका छन् । पावरप्लेमा विपक्षीको टप अर्डरलाई समस्यामा पारिरहेका उनले आज पनि त्यही काम गर्न सक्छन् ।