AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अनियमिततामा मुछिएका कार्यालय प्रमुख डा. झाको सरुवा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०८२, शुक्रबार १८:०८
234
Shares
विराटनगर / कोशी प्रदेशको उदयपुरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा भएको सरकारी बजेट हिनामिना र अनियमितता गरेपछि कार्यालय प्रमुखसहित तीन जना कर्मचारीलाई सरुवा गरेको छ ।

अनियमिततामा मुछिएका कार्यालय प्रमुख एवं आयुर्वेद चिकित्सक डा. गम्भरी झासहित तीन कर्मचारीको सरुवा गरिएको हो ।

कार्यालय प्रमुख झाले फर्जी बिल बनाएर राज्यकोषको रकम हिनामिना गरेको तथ्यसहितको समाचार बाहिर आएपछि स्वास्थ्य मन्त्रालय कोशी प्रदेशले उनलाई तत्कालका लागि सरुवा गरेको हो ।

कोशी प्रदेशका स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरेका अनुसार, कारबाही स्वरूप कार्यालय प्रमुख डा. झालाई भोजपुरस्थित जिल्ला आयुर्वेद अस्पतालमा सरुवा गरिएको छ । यसैगरी, अन्य दुई कर्मचारीलाई पनि अलग–अलग जिल्लामा पठाइएको छ । स्टोरकिपर दिपकला राईलाई खोटाङ र सूचना अधिकारी मुकेशकुमार सिंहलाई धनकुटा सरुवा गरिएको सचिव डा. घिमिरेले जानकारी दिए ।

‘बुधबार साँझ बसेको बैठकले डा. झासहितका कर्मचारीलाई सरुवा गर्ने निर्णय गरेको हो,’ सचिव घिमिरेले भने, ‘स्वास्थ्यमन्त्रीसहितको बैठकबाट निर्णय गरी सरुवाको सहमतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फाइल पठाएका छौं । अब त्यहाँबाट स्वीकृत हुन मात्र बाँकी छ ।’

सरुवा मात्रै होइन, थप कारबाही हुन्छ : स्वास्थ्यमन्त्री राई
कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले छानबिन प्रतिवेदनमा कैफियत देखिएकाले तत्कालका लागि उनीहरूलाई सरुवा गरिएको बताए । मन्त्री राईले सरुवा मात्र अन्तिम कारबाही नभएको स्पष्ट पारेका छन् ।

सरुवाले मात्रै पुग्दैन, प्रतिवेदनको आधारमा उनीहरूमाथि उपयुक्त कारबाही पनि हुनेछ,’ मन्त्री राईले भने, ‘अहिले तत्काललाई सरुवा गरिएको हो, तर आर्थिक हिनामिनाको विषयमा मन्त्रालयले थप कारबाही प्रक्रिया अगाडि बढाउनेछ ।’

डा. झाले यसरी गरेका थिए अन्यमितता
स्वास्थ्य निर्देशनालय धनकुटाका उपसचिव सोम अधिकारीको नेतृत्वमा गठित तीन सदस्यीय छानबिन समितिले डा. झाको नेतृत्वमा व्यापक आर्थिक अनियमितता भएको निष्कर्ष निकालेको छ । समितिको प्रतिवेदन अनुसार डा। झाले आर्थिक वर्ष २०८१÷८२ को औषधीको बजेटमा अन्यमितता गरेका थिए ।

प्रतिवेदन अनुसार, झाले १ लाख ११ हजार ८४८ रुपैयाँ बराबरको होमियोप्याथिक औषधि खरिद गरेको भन्दै सुनसरीको इटहरीको एक होमियो मेडिकोको फर्जी बिल पेस गरेका थिए । त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–१५ रानीबास माविमा सञ्चालित ‘निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर’ मा पनि झाले बदमासी गरेको पाइएको थियो । शिविरका लागि विनियोजित २ लाख ५० हजार रुपैयाँमध्ये ६० प्रतिशत रकम औषधि खरिदमा खर्च गर्नुपर्ने नियम छ । तर, झाले कार्यालयमा पहिल्यै रहेको निःशुल्क औषधि वितरण गरेर नयाँ औषधि खरिद गरेको भन्दै नक्कली बिल पेस गरेका थिए ।

कार्यालय परिसरमा जडीबुटी रोप्न विनियोजित ४५ हजार रुपैयाँमा झाले आँप, लिची, कटहर र मेवाजस्ता फलफूलका बिरुवा खरिद गरेको बिल बनाएका थिए । खरिद गरिएको भनिएका ती फलफूलका बिरुवा समेत कार्यालय परिसरमा नरोपिएको र अन्यत्रै लगिएको छानबिनमा फेला परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर