AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी अस्पतालबाट स्वास्थ्य सामग्री चोरी गर्ने पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ कार्तिक २०८२, मंगलवार १८:५९
297
Shares
विराटनगर / विराटनगरस्थित कोशी अस्पतालमा स्वास्थ्य सामाग्री चोरी हुने गरेको पाइएको छ । अस्पतालको भण्डार (स्टोर) बाटै बिरामीको उपचारमा चिकित्सकले प्रयोग हुने स्वास्थ्य सामग्री चोरी हुने गरेको पाइएको हो ।

आज दिउँसो अस्पताल परिसरबाटै एक कार्टुन ग्लोब्स (पञ्जा) सहित एक व्यक्ति पक्राउ परेपछि यो घटनाले संगठित चोरीको आशंकालाई बलियो बनाएको छ ।

अस्पतालको स्टोर कोठाको पछाडिपट्टिबाट धरान–१९, छाताचोक निवासी ३८ वर्षीय विवेक कट्टेललाई सुरक्षा गार्डले रंगेहात पक्राउ गरेका थिए । उनको साथबाट एक कार्टुन र एक जेब्रा झोलामा राखिएको अवस्थामा चिकित्सकले प्रयोग गर्ने पञ्जा बरामद भएको छ । यो घटनाले अस्पतालको संवेदनशील मानिने स्टोरबाट सामग्री बाहिरिनुमा कर्मचारीकै मिलेमत्तो रहेको आशंकालाई बलियो बनाएको छ ।

अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइँटेलले बरामद गरिएको सामग्री अस्पतालकै भएको पुष्टि गरे । ‘हाम्रो स्टोरमा रहेको र बाहिर बरामद भएको ग्लोब्सको प्याकेट एउटै हो,’ उनले भने, ‘सिलबन्दी कार्टुन कसरी बाहिर पुग्यो, यो हाम्रो लागि पनि आश्चर्य र अनुसन्धानको विषय बनेको छ ।’ उनले यो घटनाले विगतमा पनि यस्तै प्रकारले सामग्री बाहिरिने गरेको हुन सक्ने संकेत देखिएको बताए ।

अस्पताल स्रोतका अनुसार, बाहिरी व्यक्तिको एकल प्रयासमा मात्रै स्टोरजस्तो सुरक्षित स्थानबाट सामान बाहिरिनु असम्भव जस्तै हो । ‘यसमा भित्रकै कर्मचारीको संलग्नता बिना यो सम्भव छैन,’ स्रोतले भन्यो, ‘गहिराइमा पुगेर अनुसन्धान गर्ने हो भने ठूलो सञ्जाल नै समातिन सक्छ ।’

अस्पताल व्यवस्थापनले घटनाको छानबिनका लागि एक समिति गठन गर्ने र दोषी देखिएका जो कोहीलाई कारबाहीको दायरामा ल्याउने बताएको छ । तर, यस्ता छानबिन विगतमा कत्तिको प्रभावकारी भए भन्ने प्रश्न पनि उत्तिकै छ ।

कोशी अस्पताल विवादमा तानिएको यो पहिलो पटक होइन । केही समयअघि मात्र स्वास्थ्य बीमाको रकम दुरुपयोग गरेको आरोपमा तीन जना कर्मचारीलाई बर्खास्त गरिएको थियो । उक्त घटनाले आर्थिक अनियमितताको जालोलाई सतहमा ल्याएको थियो भने अहिलेको चोरी काण्डले भौतिक सामग्रीको सुरक्षामा समेत चरम लापरवाही मौलाएको प्रस्ट पारेको छ । पक्राउ परेका कट्टेललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मोरङमा बुझाइएको छ । प्रहरी अनुसन्धानले यो चोरीमा अस्पतालका कर्मचारीको भूमिका र अन्य सम्भावित सञ्जालबारे थप रहस्य खोल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर