खबर पूर्वाञ्चल

कसरी भएको थियो ठगी ?

छोराको लागि खरिद गरेको टि–सर्ट र हाफपेन्टको मूल्य ट्यागमा (दुवैको सेटको) एकहजार पाँचसय ८५ रुपैयाँ मात्र रहेको तर सेन्ट्रल बजारले भने दुवै सामानको अलग अलग रकम जोडेर दुईवटा सामान भन्दै उक्त सामानको तीन हजार एकसय ७० रुपैयाँ लिएको उनको दाबी छ । धेरै सामान खरिद गर्दा तत्काल थाह भएन तर, पछि शंका लागेर घरमा गएर चेक गर्दा बढी पैसा लिएको थाह पाएको उनले बताइन्। अर्थात्, एउटै सेटको मूल्यलाई दोब्बर बनाई बिल काटेको पाइएको छ। “धेरै सामान खरिद गर्दा तत्काल बिल चेक गर्न भ्याइएन, तर पछि घरमा शंका लागेर बिल र सामान हेर्दा बढी पैसा लिएको थाह भयो,’’ रेग्मीले भनिन्।
तुरुन्तै सेन्ट्रल बजार गएर जानकारी गराउँदा सेन्ट्रल बजारका बिलिङ प्रतिनिधिले आफुहरुबाट गल्ती भएको भन्दै बढी रकम लिएको स्वीकार गरेको उनले बताइन्। सेन्ट्रल बजारका प्रबन्धक रवि ठाकुरले उक्त कपडाको सेटमा एउटा ट्याग लाग्नुपर्नेमा भुलवस दुईवटा ट्याग लागेर डबल पैसा लिएको स्वीकार गर्दै क्षमायाचना गरेको उनले जानकारी दिइन्। उनका अनुसार, बढी लिएको पैसा फिर्ता पाएपनि यस्तो ठगी धेरै जना ग्राहकसँग भएको हुन सक्ने भन्दै रेग्मीले सबैलाई किनमेल गर्दा बिल र सामान राम्ररी रुजु गर्न आग्रह समेत गरिन् ।
सेन्ट्रल बजारमा यस्तो ठगी यो नै पहिलो पटक भने होइन, यसअघि पनि यस्ता धेरै घटना बाहिर आएका छन् । यसअघि पनि सेन्ट्रल बजारबाट म्याद गुज्रिएका खाद्य तथा अन्य सामान बिक्री गरेको र बिलिङमा ठगी गरेको जस्ता घटनाहरू सार्वजनिक भइसकेका छन् ।
यसले सेन्ट्रल बजारको विश्वसनीयतामाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । चाडपर्वको बेला किनमेलको चहलपहल बढ्दा व्यापारीहरूले यस्ता ठगी धन्दा चलाउन सक्छन् । त्यसैले, ग्राहकहरूले कुनैपनि सामान खरिद गर्दा मूल्य, गुणस्तर र बिललाई विशेष ध्यान दिनुपर्ने अधिकारकर्मीहरु बताउँछन् । चाडपर्वमा पनि अहिले बजार अनुगमन शुन्य प्राय छ ।