पूर्वाञ्चल खबर

मोरङको सुनवर्षी नगरपालिका–६ मा अवस्थित कित्ता नम्बर ११० को १७ कठ्ठा २ धुर सरकारी जग्गा, जुन दशकौंदेखि स्थानीय सुकुम्बासीहरूको आश्रयस्थल बनेको थियो । मालपोत कार्यालय रङ्गेलीका कर्मचारीहरूको मिलेमतोमा सुनवर्षी–९ का भीमप्रसाद सिंहको नाममा गैरकानूनीरूपमा नामसारी गरिएको पाइएको छ ।
करिब पाँच महिनाअघि २०८२ साल वैशाख ७ गते सिंहको नाममा उक्त जग्गाको धनीपुर्जा जारी भएको मालपोतको अभिलेखले देखाउँछ । यो सङ्गठित अपराधको पर्दाफास तब भयो, जब भदौ २३ गते भीमप्रसाद सिंह डोजर लिएर उक्त सुकुम्बासी बस्ती खाली गराउन पुगे । आफ्नो घरआँगनमा एक्कासि डोजर देखेपछि त्रसित बनेका स्थानीयले सोधपुछ गर्दा उक्त जग्गा सिंहको नाममा पास भइसकेको रहस्य खुल्यो ।
वर्षौंदेखि भोगचलन गर्दै आएको जमिन एकाएक अर्कैको नाममा गएको थाहा पाएपछि पीडित परिवारहरू न्यायको खोजीमा आन्दोलित भए । उनीहरूले यो घटनालाई सामान्य अनियमितता नभई सरकारी सम्पत्ति हडप्ने र गरिबलाई विस्थापित गर्ने सुनियोजित षड्यन्त्रको रूपमा लिए । दशैं बिदा सकिएलगत्तै कार्यालय खुलेपछि पीडितहरूले इलाका प्रहरी कार्यालय रङ्गेली र मालपोत कार्यालयमा धर्ना दिँदै दोषी कर्मचारी र भूमाफियामाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । उनीहरूले नगरपालिका र अन्य प्रशासनिक निकायमा समेत पुगेर आफ्नो आवाज उठाएका छन् ।
बुधबार पीडितहरूले इलाका प्रहरी कार्यालय रङ्गेलीमा मालपोतका नायव सुब्बा रेवती अधिकारी, सहायक कम्प्युटर अपरेटर अर्जुन न्यौपाने, सुरक्षा गार्ड कामदेव मण्डल र जग्गाधनी भीमप्रसाद सिंहविरुद्ध लिखत सम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएका छन् । मोरङ प्रहरीले उजुरी दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।