AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ब्रेकिङ नेपाल डट कमको औपचारिक रुपमा शुभारम्भ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ भाद्र २०८२, सोमबार १९:१८
81
Shares
विराटनगर/ कोशी प्रदेशको राजधानी विराटनगरबाट आजदेखि नयाँ अनलाइन पोर्टल ब्रेकिङ नेपाल डट कम औपचारिक रुपमा सुरु भएको छ ।

गाउँशहर मिडिया प्रालिद्वारा सञ्चालित ब्रेकिङ नेपाल डट कमको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका मेयर कोइरालाले मिडिया सञ्चालनमा आउनुभन्दा टिक्नु मुख्य विषय भएको बताए । ‘नेपालमा थुप्रै मिडियाहरु सञ्चालनमा आएका छन् । तर लामो समयसम्म टिक्न सक्दैनन्,’ उनले भने, ‘लामो समयसम्म टिक्नका लागि विशेष योजनाका साथ अगाडि बढ्नुपर्छ ।’

मेयर कोइरालाले नेपाली समाज अहिले नकारात्मक र निराशाबाट गुज्रिरहेको चर्चा गर्दै सञ्चारमाध्यमहरुले सकारात्मक सन्देश दिने समाचारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले उनले ब्रेकिङ नेपाल न्यूजले सकारात्मक र आशाको खोजी गर्न आग्रह गरे ।

उपमेयर शिल्पा निराला कार्कीले समाज रुपान्तरणमा सञ्चार क्षेत्रको अहम् भूमिका रहँदै आएको चर्चा गरिन् । निष्पक्ष र तथ्यमा आधारित रहेर समाचार बनाउनुपर्नेमा उनको जोड थियो । प्रविधिको बढ्दो प्रयोगले सञ्चार क्षेत्रमा चुनौती देखिएको बताउँदै उनले भनिन्, ‘ब्रेकिङ नेपाल जस्ता मिडियाले समयको मागअनुसार र पाठक र दर्शकको चाहनाअनुसार सामग्रीहरु प्रस्तुत गर्नु आवश्यक छ ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर खरेलले देशको आर्थिक अवस्थाका कारण सञ्चार क्षेत्र निकै समस्यामा रहेको बताए । उनले प्रदेश सरकारले प्रेसविरोधी विधेयक ल्याएको अवस्थामा ब्रेकिङ नेपालको जन्म भएको उल्लेख गरे । सञ्चार क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण बदलिनुपर्नेमा उनको जोड थियो । जोसुकै सरकारमा भए पनि सञ्चार क्षेत्र प्रतिपक्षको भूमिकामा हुने गरेका कारण जहिले पनि सत्तापक्षले सञ्चार माध्यम क्षेत्रलाई हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको खरेलको भनाइ थियो ।

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले जति धेरै सञ्चार माध्यम खुले त्यति धेरै जनताले सूचना प्राप्त गर्ने विचार व्यक्त गरे । तथ्यपरक समाचार सम्प्रेषण गरेर समाजमा विश्वसनीयता कायम गर्न उनले सुझाव दिए । अग्रज साहित्यकार एवं प्राध्यापक कविराज न्यौपानेले ब्रेकिङ नेपाल न्यूज आवाजविहीनहरुको आवाज बन्न सकोस् भनेर शुभकामना दिए ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले राजनैतिक क्रान्ति पूरा भएकाले अब सञ्चार माध्यमहरुले आर्थिक विकास र समृद्धिका मुद्दालाई प्राथमिकता दिनु आवश्यक रहेको औंल्याए । ‘ब्रेकिङ नेपाल डट कमले आर्थिक मुद्दा उठाओस् भन्ने शुभकामना दिन चाहन्छु,’ राठीले भने ।

गाउँशहर मिडिया प्रालिका अध्यक्ष एवं ब्रेकिङ नेपाल डट कमका प्रधानसम्पादक मीनकुमार नवोदितले पत्रकारिता केवल समाचारको संग्रह मात्रै नभएर सामाजिक रूपान्तरणको एक शक्तिशाली औजार भएको बताए । नेपाली समाजमा दिनप्रतिदिन मौलाउँदै गएको निराशाको छायाँ हटाएर आशाको उज्यालो फैलाउन थोरै मात्रै भए पनि प्रयास गर्ने गरी ब्रेकिङ नेपाल सुरु गरिएको उनले प्रस्ट्याए ।

‘आजभोलि हामीकहाँ सफलताभन्दा असफलता, समाधानभन्दा समस्याहरूको चर्चा बढी हुने गरेको छ । समाजमा भएका सकारात्मक परिवर्तन, प्रेरणादायी यात्राहरू र आत्मबलले जितिएका संघर्षहरू ओझेलमा पर्दै गएका छन्,’ नवोदितले भने, ‘यस्ता परिस्थितिमा ब्रेकिङ नेपाल डट कमले सकारात्मक सोच, सफल व्यक्तित्वका प्रेरणादायी कथा, युवा पुस्ताका सिर्जनशील प्रयास र सामाजिक रूपान्तरणका उदाहरणहरूलाई प्रकाशमा ल्याउने अठोट लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर