खबर पूर्वाञ्चल
कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा आक्रामक रूपमा प्रस्तुत भएको डा. कोइरालाले पार्टी नेतृत्व र सत्ता गठबन्धनको प्रमुख साझेदार नेकपा (एमाले) माथि एकैसाथ गम्भीर आरोपहरू लगाए । ‘अहिले २०८४ सालपछि मात्रै महाधिवेशन गर्ने भन्ने कुराहरू सुनिन थालेका छन् । यदि यस्तो दुस्साहस गरियो भने नेपाली कांग्रेसको भविष्यमाथि नै गम्भीर प्रश्नचिन्ह खडा हुनेछ,’ कोइरालाले भने, ‘पार्टीलाई जीवन्त राख्ने, एकढिक्का बनाउने र मौलाएको बेथिति अन्त्य गर्ने एउटै माध्यम समयमै हुने महाधिवेशन हो । यसका लागि सभापतिलाई दबाब दिन अब ढिला गर्नुहुँदैन ।’
पार्टीभित्रको मौलाउँदो गुटबन्दीप्रति आक्रोश व्यक्त गर्दै उनले कांग्रेसको अनुशासन समिति समेत गुटमा विभाजित भएको दुर्भाग्यपूर्ण अवस्था रहेको टिप्पणी गरे । ‘जब न्याय दिने निकाय नै गुटको सिकार हुन्छ, तब पार्टीमा न्याय र अनुशासनको के अर्थ रहन्छ,’ उनले प्रश्न गरे ।
कोइरालाले वर्तमान सत्ता गठबन्धनको कार्यशैलीप्रति पनि कडा असन्तुष्टि व्यक्त गरे । देशका ठूला दलहरू मिलेर सरकार बनाए पनि भ्रष्टाचार र दण्डहीनताले सीमा नाघेको उनको भनाइ थियो । उनले गठबन्धनको प्रमुख दल एमालेमाथि नीतिगत भ्रष्टाचारमा संलग्न भएको संगीन आरोप लगाए ।
निजामती विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ जस्तो संवेदनशील विषयमा छेडखानी गर्ने काम एमालेबाटै भएको हो, यो कुरा लुकाएर लुक्दैन,’ कोइरालाले भने । उनले एमालेले खाली जग्गा हडप्ने कुत्सित उद्देश्यका साथ भूमि सम्बन्धी विधेयक ल्याउन लागेको आरोप लगाउँदै त्यसलाई कुनै पनि हालतमा सफल हुन नदिने बताए ।
‘हाम्रा सांसदहरूले भूमि सम्बन्धी विधेयकमा जनताको पक्षमा संशोधन प्रस्ताव हाल्दा भूमिमन्त्रीले ठाडै अस्वीकार गर्नुभयो । यसले उहाँहरूको नियत के हो भन्ने स्पष्ट पार्छ,’ कोइरालाले भने । उनले कांग्रेस र एमालेबीच भएको सहमति अनुरुप सरकार चल्न नसकेको र एमाले एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराए । कोइरालाको यो अभिव्यक्तले कांग्रेसभित्रको आन्तरिक संघर्ष र सत्ता गठबन्धनभित्रको बढ्दो दरारलाई सतहमा ल्याइदिएको छ ।