खबर पूर्वाञ्चल
२०७१ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो पुल चिरा परेको, रड देखिने र दायाँबायाँको जमिन भासिएको छ।
करिब ४ करोड ४० लाख रुपैयाँ लागतमा बीटी निर्माण सेवाले निर्माण गरेको ७५ दशमलव ४५ मिटर लामो पुल हाल जर्जर बन्दै गएको हो।
सुरुमा २ सय मिटर लामो बनाउने योजना भए पनि चौथाइ मात्र निर्माण भएपछि पुल दुवैतर्फको कटानको मारमा परेको छ। खोलाको धार पूर्वतिर सर्दै जाँदा झापातर्फको भागमा क्षति सुरु भएको छ।
पुल हुँदै स्कुल जाने बालबालिका, अस्पताल जाने बिरामी र गर्भवती महिलासमेत आवतजावत गर्न बाध्य छन्। ठूला सवारी साधनको आवागमन पहिल्यैदेखि रोकिएको छ भने मोटरसाइकल र साइकलसमेत जोखिमपूर्ण बनेको छ।
स्थानीय टंक थक्लुङले पटक–पटक राज्यको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताउँदै अब आन्दोलनमा उत्रनु पर्ने चेतावनी दिएका छन्। “पुलभन्दा पहिले जनताको धैर्य ढल्छ,” उनले भने।
समाजसेवी राजन रायमाझीले पुल ढलेपछि मात्र निरीक्षण गर्नु लास गन्नु जस्तै भएको टिप्पणी गरेका छन्।
उर्लाबारी–९ का वडाध्यक्ष नरबहादुर मोक्तानले आफू पुलको अवस्थाबाट गम्भीर रूपमा चिन्तित रहेको भन्दै यो विषयमा दमक नगरपालिकाका मेयर राम थापालाई जानकारी गराइसकेको बताएका छन्।
“वडाले पहल नगरेको होइन,” मोक्तानले भने, “तर मर्मतको जिम्मेवारी दमक नगरपालिकामा पर्छ। अब थप ढिलाइ गर्नु हुँदैन।”
दमक–१० का वडाध्यक्ष राजेन्द्र भण्डारीले भने समस्याको स्थलगत निरीक्षण भइसकेको र तत्काल अल्पकालीन व्यवस्थापनको तयारी भइरहेको जानकारी दिएका छन्।
दमक–विराटनगर यात्रा छोट्याउने प्रमुख वैकल्पिक मार्ग यही पुल हो। इटहरी–विराटनगर–दमक भएर जानु परे ६५ किमी दूरी पार गर्नुपर्छ, तर मावाखोला पुलबाट ४२ किमीमै यात्रा पूरा हुन्छ।
यो संरचना सुरक्षित छैन भने विकल्प के ? राज्यले अझै चुप लागिरहे जनताको विकल्प सडक मात्र हुने स्थानीयको चेतावनी छ।