AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको एभरेष्ट स्कुलमा ‘नमुना संयुक्त राष्ट्रसंघ’ सभा हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ श्रावण २०८२, आईतवार १७:३७
387
Shares
विराटनगर / विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कुल तथा कलेजले विद्यार्थीहरूमा नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा विश्वव्यापी मामिलाबारे गहन समझदारी विकास गर्ने उद्देश्यले एक बृहत् कार्यक्रम आयोजना गर्ने भएको छ ।

विद्यालयले आगामी साउन २१ देखि २३ गतेसम्म ‘प्रथम एभरेष्ट नमुना संयुक्त राष्ट्रसंघको अभ्यास’ सभा आयोजना गर्न लागेको हो ।

विद्यार्थीहरूको सक्रिय पहल र व्यवस्थापनमा हुन लागेको यो तीनदिने कार्यक्रमले उनीहरूलाई संयुक्त राष्ट्रसंघको कार्यप्रणाली, विश्वव्यापी मुद्दा र कूटनीतिक बहसको वास्तविक अभ्यास गराउनेछ । कार्यक्रमको उद्घाटन साउन २१ गते कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गर्ने तय भएको कार्यक्रम संयोजक इशल भट्टराईले जानकारी दिए ।

कसरी चल्छ नमुना राष्ट्रसंघको अभ्यास ?
तीन दिनसम्म चल्ने यस अभ्यासमा कक्षा ८ देखि १२ सम्मका २ सय जना विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिको भूमिका निर्वाह गर्नेछन् । उनीहरूलाई विश्वका जल्दाबल्दा मुद्दाहरूमा छलफल गर्न ६ वटा सांकेतिक समितिमा विभाजन गरिनेछ । ती समितिहरूमा संयुक्त राष्ट्रसंघको साधारण सभा, मानवअधिकार परिषद्, विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम , दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन र अन्तर्राष्ट्रिय प्रेस रहेका छन् ।

मानवअधिकारको संरक्षण, कोभिड–१९ पछिको मानसिक स्वास्थ्य, दिगो कृषि, विपद् पूर्वतयारी र अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यास जस्ता विश्वव्यापी तथा क्षेत्रीय महत्वका विषयमा गहन छलफल र बहस हुनेछ । हरेक समितिमा ३३ जना विद्यार्थी प्रतिनिधि रहनेछन् र उनीहरूको छलफललाई सहजीकरण गर्न नेपाल र भारतका अनुभवी मोडरेटरहरूलाई आमन्त्रण गरिएको छ ।

यो कार्यक्रम केवल एक अभ्यास मात्र नभएर विद्यार्थीको चौतर्फी विकासको एक माध्यम भएको विद्यालयले जनाएको छ ।

कार्यक्रम संयोजक भट्टराईले विद्यालयले प्रदान गरेको शिक्षा र आत्मविश्वासको जगमा उभिएर पहिलो पटक यस्तो महत्त्वपूर्ण अभ्यास गर्न पाउँदा विद्यार्थीहरू निकै उत्साहित रहेको बताए । ‘यसले हामीलाई कक्षाकोठाको ज्ञानलाई वास्तविक विश्वका समस्याहरूसँग जोड्ने अवसर दिएको छ,’ उनले भने ।

कार्यक्रमको संरक्षकको भूमिकामा विद्यालयका प्राचार्य टीकाराम पुरी रहेका छन् भने ग्लोबल हेल्प फाउण्डेसनले प्राविधिक तथा व्यवस्थापकीय सहजीकरण गर्नेछ । तीन दिनको गहन छलफल र बहसपश्चात् कार्यक्रमले विश्वव्यापी समस्या समाधानका लागि युवा दृष्टिकोण समेटिएको ‘एभरेष्ट घोषणापत्र’ जारी गर्दै समापन हुनेछ ।

यो अभ्यासले विद्यार्थीहरूलाई भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो विचार प्रष्टसँग राख्न सक्ने सक्षम र आत्मविश्वासपूर्ण नागरिक बन्न प्रेरित गर्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर