AArya
RUMPUM
animated ellipse animated ellipse

महानगरको पुँजीगत खर्च अझै निराशाजनक, राजस्व संकलन लक्ष्यभन्दा निकै कम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ श्रावण २०८२, मंगलवार ०८:३८
36
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा बनाएको बजेट र वास्तविक कार्यान्वयनबीच गहिरो अन्तर देखिएको छ ।

कुल बजेटको ६४ प्रतिशत मात्र खर्च हुनुले महानगरको बजेट अनुमान असफल भएको स्पष्ट देखिन्छ ।

महानगरले सो वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राख्दै सोही बराबर खर्च गर्ने योजना बनाएको थियो । तर, असार मसान्तसम्म २ अर्ब २५ करोड ५७ लाख रुपैयाँ मात्रै खर्च गरिएको छ, जुन कुल अनुमानको ६४.४५ प्रतिशत मात्र हो ।

झनै निराशाजनक पक्ष पुँजीगत खर्चमा देखिएको छ । १ अर्ब ६७ करोड ३ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको महानगरले ७५ करोड ९८ लाख ४१ हजार रुपैयाँ मात्र खर्च गरेको छ । यो कुल अनुमानको केवल ४५.४९ प्रतिशत हो ।

अर्कोतर्फ, चालु खर्च भने पुँजीगत खर्चको झण्डै दोब्बर भएको देखिन्छ । गत वर्ष महानगरले १ अर्ब ४४ करोड रुपैयाँ चालु खर्चमा प्रयोग गरेको छ, जसले बजेटको सन्तुलनलाई प्रश्नमा ल्याएको छ । महानगरले सावाँ र व्याज तिर्ने वित्तीय व्यवस्थाको शीर्षकमा भने ५ करोड १ लाख ३२ हजार रुपैयाँ पूर्ण रूपमा खर्च गरेको जनाएको छ । यो शीर्षकमा शतप्रतिशत रकम उपयोग भएको बताइएको छ ।

राजस्व संकलन लक्ष्यभन्दा निकै कम
महानगरको आन्तरिक आम्दानी पनि अपेक्षाभन्दा कमजोर देखिएको छ । १ अर्ब १० करोड ८६ लाख रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य लिएकोमा असार मसान्तसम्म जम्मा ६२ करोड ७६ लाख रुपैयाँ मात्रै संकलन गरिएको छ ।

यद्यपि, अघिल्लो वर्षको तुलनामा यो वर्ष १ करोड ७६ लाख रुपैयाँले आन्तरिक आम्दानी वृद्धि भएको छ । कर दर घटाइएकाले राजस्व संकलन घट्ने आशंका हुँदाहुँदै पनि आन्तरिक आम्दानी केही सुधार भएको देखिएको हो ।

महानगरले आन्तरिक आम्दानी अन्तर्गत घर बहाल करबाट १४ करोड ३२ लाख, सम्पत्ति करबाट १९ करोड ३४ लाख, व्यवसाय करबाट ७ करोड ७१ लाख रुपैयाँ संकलन गरेको छ । भूमिकरबाट १ करोड ५८ लाख, पूर्वाधार उपयोग करबाट २ करोड ७० लाख, नक्सापास दस्तुरबाट २ करोड ८५ लाख, पार्किङ शुल्कबाट १ करोड ३१ लाख, अन्य दस्तुरबाट ३ करोड १६ लाख र सिफारिस शुल्कबाट २ करोड ६२ लाख रुपैयाँ संकलन भएको महानगरले जनाएको छ ।

बजेटको लक्ष्य र खर्चबीच देखिएको यो गहिरो खाडलले महानगरको योजना निर्माण, कार्यान्वयन क्षमता र स्रोत परिचालनमा गम्भीर कमजोरी औंल्याएको छ । विशेषगरी विकास निर्माणसम्बन्धी पुँजीगत खर्च अत्यन्तै कमजोर रहँदा जनअपेक्षामा चोट पुगेको स्पष्ट देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर