खबर पूर्वाञ्चल
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमानको किरिया बसेकी श्रीमती मीनासहित उनका प्रेमी ब्रम्हदेव साह र ब्रम्हदेवका साथी सोनु साहलाई पक्राउ गरेको छ । ब्रम्हदेव पछिल्लो समय विराटनगर बरगाछीको बुढाथोकी फार्मेसीमा काम गर्छन् । सोनु भने वेरोजगार छन् । मृत फेला परेका दुलालको उनको श्रीमतीले आफ्नो प्रेमीसँग मिलेर हत्या गरेकोे प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमतीको योजनामा हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले बताए ।
पक्राउ परेका तीनै जनालाई कर्तब्य ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी अधिकारीले बताएका छन् । श्रीमानसँग सम्बन्ध बिग्रिएपछि श्रीमती मीनाले प्रेमी ब्रम्हदेवको सहयोगमा हत्या गरेको प्रहरीले बताएको हो । हत्याको पूर्व योजनासहित मीनाले बोलाएपछि शनिबार राति ब्रम्हदेव र सोनुले डोरी र हत्याका लागि प्रयोग हुने सर्जिकल ग्लोब्स लिएर आएका थिए । हत्याका क्रममा फिङ्गर प्रिन्ट देखिने डरले उनीहरूले ग्लोब्स लगाएका थिए ।
डोरीले घाँटीमा बाधेर हत्या
शनिबार राति दुलालको घरमा औषधि व्यावसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । दुई जना राति करिब नौं बजे दुलालको डेराबाट निस्किएका थिए ।
रातको समयमा यादव डेरा छेउमा लुकेर बसेका थिए । दुई जना निस्किएपछि दुलाल सुतेका थिए । श्रीमान सुत्न गएपछि ब्रम्हदेवलाई बोलाउँछिन् । न्यूरो अस्पतालको फेसबुक फार्मेसी अगाडि मोटरसाइकल राखेर पैदल दुलालको डेरा पुगेका ब्रम्हदेवलाई सिँढीमा लुक्न लगाउँछिन् ।
आधा घण्टापछि मीनाले इसारा गर्दै बोलाएर ढोका खोल्छिन् । भित्र कोठामा दुलाल सुतिरहेका थिए । मदिराको नसामा सुतेका दुलालको घाँटीमा ब्रम्हदेवले डोरीले कस्छन् ।
सोनुले उनको खुट्टा समात्छन् । यो बीचमा दुलालले प्रतीकार गर्न खोजेका थिए । प्रतीकार गर्दा उनको निधार झ्यालमा ठोक्किएर चोट लागेको थियो भने घाँटीमा कस्सिएको डोरी चुँडिएको थियो । उनको घाँटीमा डोरीले बेरेको निलडाम छ ।
हत्या पछि दुलालको डेराबाट निस्किएका यादवले हत्यामा प्रयोग भएको डोरी न्यूरो अस्पताल नजिकै रहेको झाडीमा फालेका थिए । प्रहरीले डोरी पनि फेला पारेको छ । दुलालको घर सुनसरी खनार हो । तर करिब ६ वर्षयता उनी विराटनगरमा बसेर माँ देवी पाथिभरा फर्मा सञ्चालन गरिरहेका थिए ।