AArya
RUMPUM
animated ellipse animated ellipse

उद्योगको लापरवाही कटहरीमा ट्रक चालकको हत्या भएको आरोपमा संचालकलाई पनि अनुसन्धानमा ल्याउन परिवारको माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ असार २०८२, मंगलवार १८:२३
2.57k
Shares
विराटनगर / मोरङको कटहरी गाउँपालिका–३ स्थित इको पावर सोलुसन उद्योग परिसरमा ट्रक चालक गोर्खाबहादुर दोङको हत्या भएको छ ।

हत्या आरोपमा प्रहरीले २५ वर्षीय ट्याक्टर चालक दिपेशकुमार कामतलाई पक्राउ गरेको छ ।

सर्लाही हरीवन नगरपालिका–१० निवासी ५४ वर्षीय गोर्खा पुराना टायर लिएर नवनित अग्रवालद्वारा सञ्चालित इको पावर सोलुसन प्रालिमा असार १८ गते कच्चा पदार्थ पुर्याउन आएका थिए । ना ५ ख ९६१६ नम्बरको ट्रक उद्योग परिसरभित्र प्रवेश गरेलगत्तै ट्याक्टर चालक कामतसँग विवाद भयो । झगडाका क्रममा कामतले लाठी प्रहार गर्दा दोङको टाउकोमा गम्भीर चोट लाग्यो ।

घाइते दोङलाई सुरुमा कटहरीको जीवन विकास अस्पताल, त्यसपछि कोशी अस्पताल हुँदै न्यूरो अस्पताल विराटनगर लगिएको थियो । तर असार १९ गते चिकित्सकले उनलाई मृत घोषणा गरे । मृतककी बहिनी मधुमाया दोङका अनुसार उपचारमा ढिलार्इ र सुरक्षामा खटिएका कर्मचारीको लापरवाहीका कारण दोङको ज्यान गएको हो ।

मृतक दोङ वर्षौदेखि ट्रक चलाउँदै आएका थिए । उनको नाममा रहेको उक्त ट्रक लिएर असार १७ गते विहान मोरङको कटहरी आएका थिए । ‘उद्योग परिसरमै झगडा हुँदा पनि सुरक्षा गार्ड र उद्योग सञ्चालक नवनित अग्रवालले कुनै हस्तक्षेप गरेनन् । दाजु घाइते भएपछि तुरुन्त ठूला अस्पताल लैजानुपर्नेमा घुमाउँदै ढिलो पुर्याइयो,’ मधुमायाले भनिन् । उनले उद्योगको चरम लापरवाही देखिएकोले दाजुको मिलेमत्तोमा हत्या भएको आरोप लगाइन् ।

गोर्खाका दुई छोरा छन्, जसको उमेर क्रमशः १३ र ९ वर्ष छ । श्रीमतीसहितको परिवारको जीविकोपार्जन उनी ट्रक चलाएर गरिरहेका थिए । ‘अब उनीहरूलाई शिक्षा र पालनपोषणमा समस्या पर्न जान्छ,’ मधुमायाले भनिन, ‘‘त्यसैले उद्योगले क्षतिपूर्तिको जिम्मा लिनैपर्छ ।’

मृतक परिवारले घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने आशंका गर्दै गहन अनुसन्धानको माग गरेका छन् । साथै, पीडित परिवारलाई न्याय दिलाउन दोषीलाई कडा कारबाही र उद्योगबाट उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग समेत गरेका छन् ।

उद्योग सञ्चालक नवनित अग्रवाललाई घटना बुझन बारम्बार फोन सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

मोरङ प्रहरीले हत्या आरोपमा पक्राउ परेका ट्याक्टर चालक दिपेश कामतविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

घटनाको प्रकृति र उद्योगभित्रै भएको झगडालाई ध्यानमा राख्दै थप संलग्नता र लापरवाहीको पाटोमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर