खबर पूर्वाञ्चल
आज विराटनगरमा आयोजित विरोध र्यालीमा ३ सयभन्दा बढी व्यवसायीहरू सहभागी भएका थिए।
नेपाल सुन–चाँदी व्यवसायी संघ मोरङको अगुवाइमा विराटनगर–९ ठाकुरवाडी रोडस्थित संघको कार्यालयबाट निस्किएको र्याली आन्तरिक राजस्व कार्यालयसम्म पुगेको थियो।
विरोध प्रदर्शनमा सहभागी व्यवसायीहरूले करको बोझले उपभोक्ता र व्यवसाय दुवै प्रभावित भएको भन्दै तत्काल कर संरचना पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन्।
व्यवसायीहरूका अनुसार दुई प्रतिशत विलासिता करसहित १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भीएटी) लाग्दा व्यवसायीहरूलाई १९ प्रतिशतसम्म कर तिर्नुपर्दा गहना महँगो हुने र उपभोक्ता मारमा पर्ने अवस्था सिर्जना भएको छ।
व्यवसायीहरूले सुन र सुनका गरगहनामा लागाइएको विलासिता कर खारेज गर्नुपर्ने, हिरा–जवाहरात जडित गहनामा लागाइएको मूल्य अभिवृद्धि कर पुनर्विचार गरी हटाउनुपर्ने, सुनचाँदी व्यवसायलाई दीर्घकालीन रूपमा प्रोत्साहन गर्न ऐन, नियम तथा नीतिहरू निर्माण गर्नुपर्ने, कर संरचना परिवर्तन गर्नुअघि यसको दीर्घकालीन प्रभावमाथि अध्ययन गर्नुपर्ने, भारत सरह नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम गर्नुपर्ने, निर्यात ढुवानीमा लाग्ने २.५ प्रतिशत टीडीएस (ट्याक्स डिडक्टेड एट सोर्स) खारेज गर्नुपर्ने माग रहेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी संघ मोरङका अध्यक्ष शशिभूषण साह, उर्लाबारी अध्यक्ष अशोक धिमाल, सुन्दरहरैंचाका महासचिव विवेक न्यौपाने, लेटाङका उपाध्यक्ष रुद्र घिमिरे र इनरुवाका सचिव अमृत सोनीले धर्ना सभालाई सम्बोधन गर्दै सरकारसँग वार्ता नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। व्यवसायीहरूका अनुसार विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याबको व्यवस्था पनि आवश्यक छ, जुन व्यवस्था नगरेसम्म व्यवसाय अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टिक्न नसक्ने तर्क उनीहरूको छ।