खबर पूर्वाञ्चल
अपहरणमा संलग्न भएको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार घरअगाडि खेलीरहेका बेला कुशेश्वर सदाकी ७ वर्षीया छोरी ईशु सदा बुधबार दिउँसो करिब साढे १ बजेतिर अपहरणमा परेकी थिइन् । प्रहरीलाई प्राप्त जानकारी अनुसार १ जना व्यक्तिले बालिकालाई सीटी सफारीमा राखेर लगेका थिए । घटनाको जानकारी पाउनसाथ सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले अनुसन्धान एवं अपहरणमा परेकी बालिकाको खोजीका लागि डीएसपी योगराज खतिवडाको नेतृत्वमा टोली परिचालन गरेका थिए ।
डीएसपी खतिवडा नेतृत्वको टोली अपहरणमा परेको २४ घण्टाभित्रै बालिकाको उद्धार गर्न सफल भएको छ । बालिकाको उद्धार गरेर उनलाई लिएर जाने सप्तरीको कन्चनरुप नगरपालिका– १२ धरमपुरका ३१ वर्षीय जितुवा भनिने जितेन्द्र साह (हलुवाई)लाई पक्राउ गरिएको डीएसपी खतिवडाले बताए । उनका अनुसार बालिकाको खोजी गर्ने क्रममा आज दिउँसो सप्तकोशी नदीको पुलको २६ नम्बर ढोकामा फेला पारिएको हो ।
बालिकालाई भारततर्फ लगेको आशंकामा प्रहरीले भारतीय प्रहरीसँग पनि समन्वय गरेको थियो । खोजी गर्ने क्रममा आज दिउँसो सुनसरीको कोशी गाउँपालिका–८ स्थित सप्तकोशी नदीको पुलमा भेटिएपछि साहलाई पक्राउ गरी बालिकाको उद्दार गरिएको डीएसपी खतिवडाले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
कोशी गाउँपालिका– ७ का वडा अध्यक्ष लालदेव सदाका अनुसार बालिकालाई सीटी सफारीमा लिएर जाने व्यक्ति बेला–बेला गाउँमा आउँथे । बुधबार घरमा कोही नभएको मौकामा बालिकालाई लिएर गएको उनले बताए । उनका अनुसार साहले बालिकालाई बुधबार सप्तरीको राजविराजमा राखेको पाइएको छ । बिहीबार भने कोशी पुलमा फेला पारिएको प्रहरीको भनाइ छ । बालिकालाई किन अपहरण गरिएको हो भनेर यकिन भइसकेको छैन । प्रहरीले घटनाको अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने जानकारी दिएको छ ।