पूर्वाञ्चल खबर
कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेका अनुसार साँझ करिब ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गरेको प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक बूढीगंगा–४ का ३६ वर्षीय सुदीप खड्का गम्भीर घाइते भएका थिए । टाउको, छाती, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा साँझ ६ः५२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । खड्का सशस्त्र प्रहरी बल नेपाल, बीओपी स्वर्णपट्टी, सप्तरीमा कार्यरत रहेको खुलेको छ ।
प्रहरीले बस चालक सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकका ४८ वर्षीय राजन दाहाललाई नियन्त्रणमा लिएको छ । दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन् ।
प्रारम्भिक अनुसन्धानमा बसको तीव्र गति र मोटरसाइकलले अचानक बाटो काट्दा दुर्घटना भएको देखिएको इन्स्पेक्टर न्यौपानेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।