AArya
RUMPUM
animated ellipse animated ellipse

वैदेशिक रोजगारीको प्रलोभनमा पारेर भारत हुँदै तेस्रो मुलुक पठाउन लागिएका १६ जना नेपाली महिलालाई सीमा क्षेत्रबाट उद्धार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ जेष्ठ २०८२, शुक्रबार १७:०५
180
Shares
विराटनगर / वैदेशिक रोजगारीको प्रलोभनमा पारेर भारत हुँदै विदेश पठाउन लागिएका १६ जना नेपाली महिलालाई सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।

साना हात नेपाल नामक संस्थाले तीन दिनको अवधिमा विराटनगरको सीमा क्षेत्र र जोगबनी नाकाबाट ती महिलाहरूलाई उद्धार गरेको हो ।

संस्थाका शाखा प्रमुख विवस श्रेष्ठका अनुसार बिहीबार ७ जना र केही दिनअघि ९ जना गरी जम्मा १६ महिलालाई उद्धार गरिएको हो । उद्धार गरिएका महिलाहरू झापा, बारा, काठमाण्डौ र मोरङलगायतका विभिन्न जिल्लाबाट आएका हुन् । उनीहरूमध्ये केही अविवाहित किशोरीहरू पनि छन् ।

श्रेष्ठका अनुसार काठमाण्डौबाट वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया सफल नभएपछि दलालहरूले भारत हुँदै तेस्रो मुलुकमा पठाउने योजना बनाएका थिए । ती महिलालाई दुवई, कुवेत, ओमानलगायतका खाडी मुलुकमा घरेलु कामदारका रूपमा मासिक ३५ हजारदेखि ४० हजार रुपैयाँ कमाइ हुने आश्वासन दिइएको थियो ।

दलालहरूले महिलाहरूलाई “जोगबनीमा खाद्य वस्तु किन्न गएका” भन्ने बहानामा सीमा पार गराउन खोजेको संस्थाले जनाएको छ । अवैध रूपमा वैदेशिक रोजगारमा पठाउन खोजिएको भन्दै संस्थाले तत्काल उद्धार गरी महिलाहरूलाई प्रहरीले रोहवरमा आफन्तको जिम्मा लगाउने प्रक्रिया अघि बढाएको छ ।
यस घटनामा संलग्न वैदेशिक रोजगार एजेन्टहरू भने फरार रहेका छन् । साना हात नेपालले मानव बेचबिखन तथा अवैध तस्करी रोक्न सीमावर्ती क्षेत्रमा निगरानी तथा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर