खबर पूर्वाञ्चल
विराटनगर विमान स्थलमा आज सञ्चारकर्मीहरुसँग भेटमा उनले चालु अधिवेशनबाटै निजामती कर्मचारी ऐन, शिक्षा ऐन जारी हुने जानकारी दिए । मन्त्री गुरुङले भिजिट भिसा प्रकरणमा कुनै कर्मचारीले गलत गर्दैमा गृहमन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने पनि बताए । यस विषयमा विपक्षी दलले प्रतिशोधको राजनीति गरिरहेको उनको आरोप छ ।
मन्त्री गुरुङले सरकारले बनाएको आयोग स्वायत भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको विषयमा टिप्पणी गर्नु उचित नहुने भन्दै अख्तियार दुरुपयोग गरी गलत गर्ने मानिसलाई आयोगले छानबिन गर्ने बताए ।
मन्त्री गुरुङले सरकार अधिनायकवादी हुन्छ भनेर नै संवैधानिक निकायहरू बनाइने गरिएको बताए । अख्तियारले आफ्नो अधिकार प्रयोग गरेर कानुनी प्रक्रिया सुरु गरेकाले यसलाई प्रतिशोध भन्नु गलत भएको उनको भनाइ छ।
सरकारले फाइल खोल्ने भनेर कतै नभनेको र अहिले पनि अख्तियारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेको उनले बताए । मन्त्री गुरुङले निजामती सेवा ऐन तथा शिक्षा विधेयक सदन अवरुद्ध भएकाले टेबल हनु नसकेको बताउँदै चालु बजेट अधिवेशनबाटै यो दुवै विधेयक पास हुने विश्वास व्यक्त गरे ।