खबर पूर्वाञ्चल
आयोगले दिएको निर्देशन केलेजले वेवास्था गरेपछि एमबिबिएस तहमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित भएका छन् । आयोगले कार्यकारी समितिको गत मंसिर १९ को निर्णय अनुसार एमबिबिएस तह अध्ययनरत विद्यार्थीले बुझाएको ४२ लाख ४५ हजार रुपैयाँभन्दा बढी शुल्क फिर्ता गर्न कलेजलाई निर्देशन दिएको थियो । यस्तै, आयोगले जिल्ला प्रशासन कार्यालय मोरङ र काठमाडौं विश्व विद्यालयलाई निर्णय कार्यन्वयन भएको जानकारी गराउन नोबेललाई निर्देशन दिएको थियो । तर, कलेज दैनिक दुई हजार रुपैयाँ जरिवाना थप्दै आएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । सरकारले एमबिबिएस तहका लागि ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोको भए पनि नोबेल मेडिकल कलेजले भने ४७ लाख ९० हजार रुपैयाँ शुल्क असुल्दै आएको छ ।
नोबेलमा अध्ययनरत २०७४/७५ का ३७ जना र २०७५/७६ का ४१ जना विद्यार्थीले आयोगमा दिएको उजुरीका आधारमा आयोगले तोकिएभन्दा बढी लिएको शुल्क फिर्ता गर्न मंसिर १९ गते निर्देशन दिइएको थियो । १२ औं ब्याचका विद्यार्थीले अन्तिम किस्ता गत कात्तिकमा बुझाउनुपर्ने भए पनि उनीहरुले आयोगको निर्णय पर्खेर बसेकाले अन्तिम किस्ता बुझाउन बाँकी रहेको विद्यार्थीहरुको भनाई छ । ‘हामीले सरकारले तोकेको शुल्कभन्दा ४९ लाख रुपैयाँ बढी बुझाइसकेका छौँ । त्यही भएर हामीले बुझाएनौँ,’ एक विद्यार्थीले भने, ‘अहिले दैनिक हामीलाई दुई हजार रुपैयाँको दरले कलेज प्रशासनले जरिवाना थप्दै मेन्टली टर्चर दिन्छ ।’
आइतबार सिअिडो कार्यालयमा छलफल आयोगले जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ पठाएको आधारमा विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारीलाई सहजीकरणका लागि आग्रह गर्दै आएका छन् । तर, शुक्रबार प्रमुख जिल्ला अधिकारबीच छलफल गर्ने वातावरण नपाएको विद्यार्थीहरुको गुनासो छ । ‘हामीले कलेजमा बढी बुझाएको शुल्क, बुझाउन बाँकी रहेको अन्तिम किस्तामा समायोजन वा फिर्ता गर्न कलेज प्रशासनलाई भनेको हौं,’ एक विद्यार्थीले भने, ‘तर कलेज प्रशासनले शुल्क फिर्ता दिँदैन, टर्चर मात्रै दिन्छ ।’
आयोगका उपसचिव सेमन्तराज कोइरालाले कार्यकारी समितिको निर्णयअनुसार काठमाडौं विश्वविद्यालय र जिल्ला प्रशासन कार्यालय मोरङलाई परिपत्र गरेका कारण विद्यार्थीले कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारीसँग अनुरोध गर्दै आएका हुन् ।
यता प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले चिकित्सा शिक्षा आयोगबाट आएको पत्र अनुसार नोबेल मेडिकल कलेजलाई पत्रचार गरिसकेको बताए । ‘चिकित्सा शिक्षा आयोगबाट आएको पत्रअनुसार नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क नलिनु भनेर हामीले नोबेल मेडिकल कलेजलाई पत्रचार गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘हामीले तीन पटक पत्रचार गरेका छौं । तोकिएको शुल्क भन्दा बढी शुल्क लिए प्रचलित कानुनअनुसार कारवाही हुने जानकारी पनि गराएका छौं ।’ विद्यार्थी र कलेज प्रशासनका सम्बन्धित पक्षलाई आइतबार छलफल गर्ने अवस्था रहेको प्रमुख अधिकारी निरौलाले बताए ।