खबर पूर्वाञ्चल
प्रधानमन्त्री ओलीले आज काठमाण्डौको भृकुटिमण्डपमा लोकतन्त्र दिवसको अवसरमा आयोजित युथ सेलिब्रेसनलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् । ‘यतिबेला नेकपा एमाले र कांग्रेसको सरकार एउटा संकल्पसाथ बनेको सरकार हो । यो स्थिरता र स्थायीत्वका लागि बनेको सरकार हो । यो केही लिएर अघि बढेको छ । सरकारको बारेमा होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ,’ उनले भने । एमालेले सधैं सरकार बचाऔं भनेर नहेर्ने बताउँदै सधैं चुनाव हेर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।
‘एमालेले सरकार बनाऔं, सरकार बचाऔं भनेर हेरिरहेको हुँदैन । एमालेले सधैं चुनाव हेरेको हुन्छ । हामीले ७० को चुनाव भन्यौं । र ८४ को चुनाव भनिरहेका छौं । ढुक्कले मिसन ८४ मा लाग्नुस्,’ प्रधानमन्त्री ओलीले भनेका छन् । कतिपयले सरकार ढल्छ भनेर भनिरहेको बताउँदै अहिलेको गठबन्धन स्थिरता र स्थायीत्वका लागि बनेको ओलीको भनाइ थियो । ‘सरकार जान्छ, जान्छ भनेर भन्न थालेका छन् ।
लोकतन्त्रमा सरकार बन्दा लामो समयका लागि ५ वर्षका लागि बन्छ । यो तानाशाही त होइन, अधिनायकवादी व्यवस्था त होइन कि कसैको वंशको शासन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘५० वर्षका लागि हुन्छ, २ सय ५० वर्षका लागि हुन्छ, १ सय ४ वर्षका लागि हुन्छ भनेजस्तो । हामीले भनेको स्थिरता जनताको अभिमतसहितको स्थिरता हो ।’ संसद्को बनोट अनुसार ठिक ढंगले देशलाई अघि बढाउन सकेसम्मका प्रयास नेकपा एमालेले गर्ने उहाँले बताउनुभयो । ‘यस कुरामा चिन्ता नगर्नुस् । मिसन ८४ मा ध्यान दिनुस्,’ ओलीले सम्बोधनको क्रममा दोर्होयाए ।