खबर पूर्वाञ्चल
लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने कार्यक्रममा दुर्गेश थापासँगै अन्य कलाकार, डान्स क्लब र फेसन शो समेत प्रस्तुत गरिने आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।
कार्यक्रमका संयोजक सन्तोष महतका अनुसार कार्यक्रम दिउँसो ४ बजेदेखि सुरु हुनेछ। दुर्गेश थापाका ‘दुस्मन हेरेको हेर्यै’, ‘बीच्च बीच्चमा’, ‘ख्यास्स पुतली’, ‘डन आयो डन’ जस्ता चर्चित गीतहरू कार्यक्रमको मुख्य आकर्षण हुनेछन्। महतले कार्यक्रमलाई मनोरञ्जनमूलक मात्र नभई सामाजिक उद्देश्यसहित आयोजना गरिएको बताए। उनका अनुसार कार्यक्रमबाट बचेको रकम विपन्न परिवार र अपाङ्ग व्यक्तिहरूलाई सहयोग गरिनेछ।
कार्यक्रमका व्यवस्थापक कुमुद जैनले दर्शकका लागि तीन प्रकारका टिकटको व्यवस्था गरिएको जानकारी दिए। साँगीतिक कार्यक्रममा थप आकर्षणका रूपमा स्थानीय खाना परिकारका स्टलहरू पनि रहने छन्। आयोजकका अनुसार कार्यक्रम आयोजना गर्न करिब १३ लाख रुपैयाँको लागत अनुमान गरिएको छ।
विराटनगरवासीका लागि नयाँ वर्षको सुरुवातमा मनोरञ्जन र सामाजिक उत्तरदायित्व जोडिएको कार्यक्रमका रूपमा ‘दुर्गेश थापा लाइभ इन विराटनगर’ एक विशेष अवसर हुने आयोजकले विश्वास व्यक्त गरेका छन्।