AArya
RUMPUM
animated ellipse animated ellipse

कुमाल बस्तीमा जीवनवादी कविता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ बैशाख २०८२, सोमबार १८:०१
72
Shares
संखुवासभा / संखुवासभाको तुम्लिङटारस्थित कुमाल समुदायको बस्तीमा जीवनवादी साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

प्रगतिशील लेखक संघ (प्रलेस) संखुवासभाको आयोजनामा तथा कुमाल समाज नेपाल, संखुवासभाको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो । ‘गाउँगाउँमा प्रलेस, टोलटोलमा साहित्य’ अभियानअन्तर्गत दोस्रो शृंखलाको रूपमा आयोजित कार्यक्रममा बालबालिकासँग कविता लेखन, प्रस्तुति र प्रतिस्पर्धासमेत गरिएको थियो । कार्यक्रममा ३५ जना बालबालिकालाई कापी–कलम वितरण गरिँदै कविता लेखनको प्रशिक्षण प्रदान गरिएको थियो ।

प्रशिक्षणपछि सोनु कुमाल, सलिना श्रेष्ठ, कृस्टिना दुत्पाउ, युनिस गौतम, सोनिया कुमाल, सुसान्त अधिकारी, दीक्षा कुमाल, सुमित्रा कुमाल, रेजिना कुमाल, स्मारिका कुमाल, विवसा कुमाल, आदर्श कुमाल, स्पन्दन दिक्पाल र रेजिना मगरले रचना गरी प्रस्तुत गरेका थिए ।

प्रतिस्पर्धामा सोनिया कुमाल प्रथम, सलिना श्रेष्ठ द्वितीय र दीक्षा कुमाल तृतीय भएका छन् । उनीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कुमाल समाजको हलमा सम्पन्न कार्यक्रममा समाजले साउण्ड सिस्टम, चिया तथा पुरस्कारको व्यवस्था गरेको थियो । प्रलेस सदस्य भुवन हलिदेले सञ्चालन गरेको कार्यक्रममा कुमाल समाजकी कोषाध्यक्ष अरुणा कुमालले स्वागत मन्तव्य राखेकी थिइन् ।

कवि कृष्णबहादुर चापागाई, वीरेश राई, राम गुरुङ, गुरुप्रसाद सुवेदी, मैया बजगाईं र सुशीला कुमाल मगरले कविता तथा गजल वाचन गरेका थिए । कार्यक्रममा शिक्षक मित्राकुमारी राई, सबित्रा पन्त सुवेदी, खड्गकुमारी दाहाललगायत स्थानीय विद्यालयका विद्यार्थी र कुमाल समाजका पदाधिकारीहरूको उपस्थिति थियो ।

कार्यक्रमका सभापति तथा प्रलेस जिल्ला अध्यक्ष ताराबहादुर बुढाथोकीले बस्तीमै पुगेर कविता लेखनको तालिम तथा गोष्ठी आयोजना गर्नुको महत्व औँल्याउँदै भने, “जहाजले उड्छु भन्यो, तिमीले बस्ती छोडिदियौ, मोटरले गुड्छु भन्यो, तिमीले छाप्रो तोडिदियौ, परियोजनाले बस्छु भन्यो, तिमीले दोसल्ला ओढिदियौ, विकास अघि सर्दै गयो, तिमी पछि पर्दै गयौ ।”

उनले पछाडि पारिएको कुमाल समुदायलाई साहित्यिक चेतनाले जोड्ने उद्देश्यले बस्ती रोजिएको जानकारी दिए । कार्यक्रम अवधिभर मल बोकेका किसानहरू पनि भारीसँगै उभिएर माइकको आवाज टाढाटाढासम्म सुन्दै गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर