AArya
RUMPUM
animated ellipse animated ellipse

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि हरैँचा बजार तनावग्रस्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ बैशाख २०८२, शुक्रबार १८:२७
324
Shares
विराटचोक / मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा आज विहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएपछि क्षेत्र तनावग्रस्त बनेको छ।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीय आक्रोशित भीडले शव सडकमा राखेर प्रदर्शन गर्दै विराटनगर–विराटचोक सडक खण्ड पूर्णरूपमा अवरुद्ध पारेका छन्।

मोरङ प्रहरीका अनुसार विहान करिब १०ः५० बजे विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको ना १ क ६२७० नम्बरको टिपरले सोही दिशाबाट गइरहेको प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक, सुनसरीको दुहबी नगरपालिका–९ निवासी ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको पुष्टि प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले गरे।

दुर्घटनापछि आक्रोश
दुर्घटनापछि स्थानीयवासीहरू घटनास्थलमा भेला भए। मृतकको शव सडकमै राखेर प्रदर्शन सुरू गरिएको छ। भीडले टिपरको तीव्र गति र बेवास्ताका कारण दुर्घटना भएको भन्दै आक्रोश पोखेका छन्। आन्दोलित स्थानीयले सवारी रोक्का गर्दै प्रदर्शन चर्काउँदै लगेका छन्।

भीड झन आक्रामक हुँदै गएपछि प्रहरीले ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरेको छ। भिडले टिपरमा आगजनी गर्ने प्रयाससमेत गरेको जानकारी दिँदै डीएसपी जोशीले भने, ‘टिपरलाई सुरक्षाका बीच घटनास्थलमै सुरक्षित राखिएको छ। भिडलाई नियन्त्रणमा लिन प्रहरी टोली जुटिरहेको छ।’

आन्दोलनका मागहरू
प्रदर्शनकारीहरूले मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दुर्घटनामा संलग्न टिपर चालकलाई कडा कारबाही गर्नुपर्ने, तथा टिपर सञ्चालनमा नियन्त्रण गर्नुपर्ने माग अघि सारेका छन्। उनीहरूको आरोप छ कि हरैंचा बजार क्षेत्रमा टिपरहरू तीव्र गतिमा गुड्ने, नियम उल्लंघन गर्ने प्रवृत्ति बढ्दो छ र यसले सर्वसाधारणको ज्यान जोखिममा पारिरहेको छ।

स्थानीय बासिन्दा रमेश चौधरी भन्छन्, ‘हामी दिनहुँ यस्तै तीव्र गतिका टिपरबाट त्रसित छौं। आज हाम्रै छिमेकीको मृत्यु भयो, भोलि कसको पालो आउँछ भन्ने चिन्ता छ।’

चालक पक्राउ, अनुसन्धान अघि बढ्दै
घटनामा संलग्न टिपरका चालक पवन योन्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। टिपर कान्छाराम कन्स्ट्रक्सनको नाममा दर्ता रहेको र विराटनगरका अभिषेक गिरीले निर्माण सामग्री ढुवानीका लागि भाडामा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। टिपरमा गिट्टी लोड गरिएको थियो।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार, तीव्र गतिका कारण मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। अनुसन्धानलाई तीव्र बनाउँदै दोषीमाथि कानुनी कारबाही गर्ने प्रहरीको भनाइ छ।

स्थितिलाई नियन्त्रणमा लिन प्रयास
प्रदर्शनका कारण विराटनगर–विराटचोक सडक खण्ड पूर्णरूपमा अवरुद्ध बनेको छ। सवारीसाधनलाई वैकल्पिक मार्गमार्फत ‘डाइभर्ट’ गरिएको ट्राफिक प्रहरीले जनाएको छ। भिडलाई सम्झाइबुझाइ गर्न डीएसपी मदन केसी नेतृत्वको टोली खटिएको छ। डीएसपी जोशीले भने, “हामीले थप प्रहरी खटाएका छौं। भिडलाई शान्त पार्न प्रयास जारी छ। स्थानीयसँग संवाद गरेर स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर