खबर पूर्वाञ्चल
प्याज निर्यातमा रोक लगाएपछि त्यसको असर नेपाली बजारमा समेत पर्न थालेको हो । भारत सरकारले आन्तरिक खपतलाई परिपूर्ति गर्दै हाल बढ्दो मूल्य नियन्त्रण गर्नका लागि भारतले अन्य मुलुकमा प्याज निर्यातमा रोक लगाएको छ । नेपाली व्यापारीले खरिद गरि ल्याएको प्याज भारतीय सीमा जोगबनीमा रोकिएको छ ।
विराटनगर गुद्रीस्थित आलु तथा प्याजका थोक विक्रेता पशुपति भगतले १२ वटा प्याज लोड भएका ट्रक जोगवनीमा अड्किएको बताए । भारतको इन्दौरबाट आयात हुने प्याजमा एकाएक रोक लगाएपछि नेपाली व्यापारीको करिब ३ करोड रुपैयाँ बराबरको प्याज सीमापारी नै रोकिएको उनको भनाइ छ । प्याजमा रोक लगाएसँगै मूल्यमा पनि असर पर्न थालेको छ । चार दिन अघिसम्म ६५ रुपैया प्रतिकिलो पाईने प्याजको मुल्य हाल १ सय रुपैया पुगेको छ । अहिले ब्यापरीसंग भएको प्याजको मौज्दात हेर्दा विराटनगरमा एकसातासम्म प्याजको मूल्य प्रति किलोग्राम १ सय रुपैयाँ भन्दा बढि नहुने भगतले बताए । त्यसपछिको जिम्मेवारी व्यापारीले लिन नसक्ने आयातकर्ताहरुको भनाई छ । हाल भारतीय भूमिमा रोकिएको प्याज निकासी गर्नका लागि प्रशासनले पहल गरिदिनुपर्ने उनीहरुको माग छ ।
प्रदेशमा दैनिक करिब ३ मेक्ट्रिक्टन बढि प्याज खपत हुने गर्दछ । आज प्याजको आयात ठप्प भएको बताउँदै विराटनगर भन्सार कार्यालयकी सूचना अधिकारी सुनिता पौडेलले हिजोसम्म भन्सारबाट प्याज आएको जानकारी दिइन् । भन्सार कार्यालयका अनुसार यसवर्ष साउनमा ९ सय ३७ टन र भदौ २४ गते सम्म ६ सय ६२ टन गरि कुल १ हजार ५ सय ९९ टन प्याज आयात भएको छ । जसबाट ड्युटी कर ८५ लाख ७९ हजार रुपैयाँ संकलन भएको छ ।
तपाईको प्रतिक्रिया