विराटनगर / नेकपा (माओवादी केन्द्रका)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी भित्रको गुटबन्दी हटाउन कार्यकर्ताहरु लाग्नुपर्ने बताएका छन् ।
आज विराटनगरमा नेकपा (माओवादी) केन्द्र विराटनगर महानगर कमिटीको दोस्रो सम्मेलनको उद्घाटन गर्दै उनले कार्यकर्ताहरुको एकतावद्धले यस क्षेत्रमा भएको उपनिर्वाचनमा र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विजयी हासिल गरेको चर्चा गर्दै यसरी नै पार्टीलाई एकढिक्का बनाइ अगाडि वढाउन कार्यकर्ताहरुलाई आग्रह गरे ।
अध्यक्ष प्रचण्डले विगतको माओवादीको १८ महिनाको शासनकालमा भ्रष्टाचार विरुद्धको अभियानले जनतामा पार्टीप्रति ठूलो आशा जगाएको बताए । उनले माओवादीको शासनकालमा लिएको सङ्कल्प अनुसार जनताले देख्ने,वुझ्ने गरी सुशासन,सामाजिक न्याय र समृद्धि बनाउने दावी समेत गरे ।
अध्यक्ष प्रचण्डले पार्टीले सञ्चालन गरेको हुलाकी सडक अभियानमा जनताको ठूलो उत्साह, सहभागीता र लहर आएकोले यसलाई संगठनमा रुपान्तरण गरी आगामी निर्वाचन विजयी गराउनतर्फ कार्यकर्ताहरु आजदेखि लाग्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले विराटनगरको चक्रपथ सम्पन्न गर्न,सुकुम्वासी समस्या समाधान, अन्तराष्ट्रिय क्रिकेट खेलमैदान र पर्यटन विकासमा पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।
नगर अध्यक्ष नविन पौडेल, पूर्वमन्त्री अमनलाल मोदी, पार्टीको प्रदेश इन्चार्ज हरिवोल गजुरेल, केन्द्रीय सदस्य शिवकुमार मण्डल, प्रदेश अध्यक्ष हर्क नेम्वाङ्गलगायतले पार्टीको भ्रष्टाचार विरुद्धको अभियानले जनतामा उच्चस्थान बनाएकोले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउने अभियानमा लाग्न आग्रह गरे ।