खबर पूर्वाञ्चल
पर्यटन वन तथा वातावरण मन्त्रालयले आज एक कार्यक्रम आयोजना गरी नारा, लोगो र मस्कट सार्वजानिक गरेको हो ।
कोशी प्रदेश सरकारले महत्वका साथ प्रचार गरेको पर्यटन वर्ष २०८२ को आगामी चैत २७ गते तेह्रथुमको तिनजुरे क्षेत्रबाट प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ । कोशी प्रदेश भ्रमण वर्षका लागि आवश्यक पूर्वाधार र संरचना तयारी गर्ने उद्देश्यले पर्यटन वर्ष २०८२ मनाउन लागेको हो । त्यसका लागि चालू वर्ष २०८१–८२ को बजेटमा १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । विनियोजन गरिएको उक्त रकम तीन महिनाको अवधिमा कसरी खर्च हुन्छ भन्ने प्रश्न भने सरोकारवालाले उठाउने गरेका छन् । यद्यपि मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गरी आह्वान गरेपछि प्राप्त भएको विभिन्न छ वटा प्रस्तावहरुबाट उत्कृष्ट लोगो र मस्कट भने स्वीकार गरेको छ ।
मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार कोशी प्रदेशको हिमाली क्षेत्रमा पाइने हाब्रेको मस्कट प्रयोग गर्ने निर्णय गरेको छ भने नेपाली राष्ट्रिय झण्डाको कभरमा विश्वमा कोशी टप्पुमामात्र पाइने अर्नाको प्रतिकसँगै सगरमाथा, पहाड, तराई, कोशी नदी र सुन्दर प्राकृतिक सम्पदा झल्काउने प्रतिकहरु प्रयोग गरी लोगो निर्माण गरिएको छ । ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा पनि तय गरिएको छ । मुल नारा भने ‘रमणीय कोशी’ रहेको छ ।
मन्त्री मण्डलले कोशी प्रदेशको प्रमुख चार धार्मिक गन्तव्यहरू र पर्यापर्यटन, पैदलमार्गहरुलाई विशेष जोड दिएर पर्यटन प्रवद्र्धन गर्न चाहेको बताए । उनले वराह क्षेत्र, हलेसी, पाथीभरा र रामधुनीलाई प्रवद्र्धन गरेर ठूलो संख्यामा धार्मिक पर्यटकहरु ल्याउन सकिने सम्भावना रहेको बताए । केही महिनाअघि मात्र बराह क्षेत्रमा बागेश्वर बाबा भ्रमणका लागि आउँदा १५ लाख भन्दा बढी पर्यटकहरु त्यहाँ पुगेको मन्त्री मण्डलको अनुमान छ । मन्त्री मण्डलले रामधुनी र हलेसीमा पनि त्यस्तै सम्भावनाहरु रहेको बताए ।
मन्त्रालयका सचिव विशाल घिमिरेले मन्त्रालयले प्रवद्र्धनको क्षेत्रमा विभिन्न ढंगले काम गरिरहेको बताए । उनले पर्यटन क्षेत्रका व्यवसायीहरुसँग छलफल अन्तरक्रिया, भारतीय फुटबल खेलाडी तथा नेता भाइचुङ भुटियालाई आमन्त्रण गरेर छलफल गर्नेदेखि प्रवद्र्धनका लागि अनेकौं प्रयास भइरहेको तर त्यसलाई मिडियामार्फत जनताका बीचमा लैजान नसकेको बताए । उनले आफूहरु पर्यटन प्रवद्र्धनको क्षेत्रमा नयाँ भएको र नीतिगत सुधारको दिशामा अघि बढिरहेको भन्दै अब प्रवद्र्धनमा विशेष जोड दिने पनि बताए । छलफल कार्यक्रममा कोशी प्रदेश पर्यटन पर्यटन वर्ष २०८२ को सचिवालयका सहसंयोजकद्वय कृष्ण साह र भविसकुमार श्रेष्ठले पर्यटन वर्षको तयारीका क्रममा भइरहेका कामहरुका बारेमा जानकारी दिएका थिए ।
सरकारले पर्यटन वर्षको दौरानमा भारतसँगको चार मुख्य नाकामा पर्यटन सूचना केन्द्र स्थापना गरी तथ्यांक संकलनलाई व्यवस्थित गर्ने श्रेष्ठले विश्वास व्यक्त गरे । पर्यटन वर्षको तयारीकै सन्दर्भमा सरकारले ५ सय पर्यटन सहयोगी (भोलेन्टियर्स)हरु तयार गरिरहेको र उनीहरुले बजार प्रबद्र्धन गर्ने सहसंयोजक साहले बताए ।
कोशी प्रदेशमा प्रमुख पर्यटकीय गन्तव्यहरु १४ वटा रहेका छन् ।
नयाँ विकास गरिनुपर्ने पर्यटकीय क्षेत्र १६ वटा रहेको जनाइएको छ । २०८० साल चैतमा चतराधाममा आयोजना भएको महाकुम्भ मेलामा स्थलभार्गबाट लाखौं भारतीय पर्यटक आएको अनुमान प्रदेश सरकराको छ । साथै कोशी प्रदेशमा वार्षिक ४८ हजारको हाराहारीमा तेस्रो मुलुकका पर्यटक भित्रिने गरेका छन् । सन् २०२२ मा कोशी प्रदेशमा पर्वतारोहीको संख्या करिब १५ सयको हाराहारीमा पुगेको थियो ।
प्रदेशमा तारे स्तरका होटल १२ वटा, पर्यटकीयस्तरका होटल ३६ वटा छन् भने निजी र सामुदायिक गरी कूल १०५ वटा होमस्टेहरु रहेको पर्यटन मन्त्रालयले जनाएको छ