AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

२०८४ मा माओवादीले कोहीसँग गठबन्धन गर्दैन : अध्यक्ष प्रचण्ड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ फाल्गुन २०८१, बुधबार १०:३८
126
Shares
विराटनगर / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा गठबन्धन गर्दा कांग्रेस र एमालेलाई ठूलो पार्टी बनाउन माओवादीले सहयोग गरेको दाबी गर्दै २०८४ को निर्वाचनमा माओवादी एक्लै अगाडि बढ्ने संकल्प गरेको बताएका छन् ।

माओवादीले सुरु गरेको तराइ मधेश जागरण अभियानको तेस्रो दिन आज प्रेस सेन्टर नेपाल मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले अबको चुनाबमा काँग्रेस र एमालेसँग गठबन्धन नहुने बताएका हुन् । उनले गठबन्धनविना माओवादी अगाडि जानसक्छ भन्ने संकेत गएको उपचुनाबले देखाइसकेको उल्लेख गरे ।

‘२०६९ सालको चुनाबको गणित हिसाब गरेर बस्नु जनताको नयाँ चेतनालाई नबुझेको हुन्छ’ उनले भने, ‘सुशासन, समृद्धि र सामाजिक न्यायको अभियान निरन्तर चलाएर अबको निर्वाचनबाट माओवादी पहिलो दल बन्नेछ ।’

माओवादी नेतृत्वको सरकार विचौलिया र भ्रष्टाचारीले ढालेको आरोप लगाउँदै प्रचण्डले त्यो कुरा नागरिक तहमा स्थापित भइसकेकोमा पत्रकारहरुले चै बुझ्न नसकेको वा नचाहेको अनुभूति भएको दावी गरे । ‘१८ महिना सरकारमा रहँदा माओवादीले के गर्यो र रातारात किन नयाँ गठबन्धन बन्यो भन्ने जनताले पनि बुझेको अवस्था छ’ उनले भने, ‘तपाई पत्रकारहरुले चै बुझ्न नचाहेको हो कि नबुझेको भन्ने लागेको छ ।’

जनताका समस्या बुझ्न सुरु गरेको जागरण अभियानले सिंगो पार्टी र जनतामा पनि उत्साह देखिएको उनले बताए । झापाबाट फागुन १२ गते सुरु भएको ‘जनतासँग माओवादी– तराई मधेश जागरण अभियान’ को तेस्रो दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नयाँ संकल्पसहित अभियानमा होमिएको बताए ।

अभियान भाषण गर्ने र हिँड्नेभन्दा पनि किसान, मजदुर, बुद्धिजीवी, तराई मधेका नागरिक समुदाय, पत्रकार र आम जनतासँग सम्बन्ध सुदृढीकरण गर्न चलाइएको बताउँदै प्रचण्डले झापा र मोरङको कार्यक्रम सम्पन्न हुँदा उत्साह बढेको दावी गरे । ‘अभियानको क्रममा २०६४ को झल्को पाएको छु’ उनले भने, ‘काँग्रेस र एमालेसँगको गठबन्धन तथा सरकारको सम्झौतामा केन्द्रित हुँदा कमजोर बनेको माओवादी अब जुरुक्कै उठ्ने वातावरण बनेको छ ।’

दक्षिण भेगका जनतासँग साक्षात्कार गरी उनीहरूका समस्या, मुद्दा बुझ्न र नयाँ जनचेतनाका लागि गरिएको अभियान सुरु गरिएको बताउँदै प्रचण्डले आफ्नो सरकारले सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानबारे नागरिक सचेत रहेको पाइएको बताए । ‘हाम्रो सरकारले थालेको सुशासन, समृद्धि र सामाजिक न्यायको अभियान रोक्न काँग्रेस र एमालेको गठबन्धन बनेको तथ्य अभियानको क्रममा जनतालाई राखेका छौं’ उनले भने, ‘जनताले त्यो विषय गहिरोसँग बुझेको अनुभूति भएको छ । यो अभियान कञ्चनपुरमा पुग्दा माओवादी नयाँ ठाउँमा पुग्नेछ ।’

‘हामीले सुशासन कायम गर्न खोज्यौं । भ्रष्टाचारी विरोधी अभियान सुरु गरेवापत, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन थालेवापत भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको हो’, उनले भने । त्यही सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रव्यापी रुपमा जनताको बीचमा लैजान जागरण अभियान सुरु गरेको उनले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुनेबेला माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणालीमा जानुपर्ने फरक मत राखेको स्मरण गर्दै प्रचण्डले संविधान संशोधन गर्दा त्यो मुद्दा अगाडि सार्ने बताए । काँग्रेस–एमालेले संविधान संशोधनको कुरा सत्तामा जानको लागि मात्र उठाएको दावी गर्दै उनले भने, ‘उनीहरुले संविधान संशोधन गर्न सक्ने अवस्थामा जनताले प्राप्त गरेको अधिकार पनि खोस्न चाहेका छन् । त्यो हुन दिँदैनौं ।’

सुशील कोइरालालाई राष्ट्रपति र केपी ओलीलाई प्रधानमन्त्री बनाउने भनेपछि मात्र संविधान बनेको स्मरण गर्दै प्रचण्डले संविधानका धेरै विषयमा माओवादी देखिने भएकोले काँग्रेस एमालेले त्यसलाई भत्काउन चाहेको आरोप लगाए । ‘विगतमा २ पटक प्रतिनिधिसभाको बिघटन होस् या संविधान कार्यान्वयनको उदासिनता उनीहरुले पछाडि पर्कन चाहेको संकेत हो’ उनले भने, ‘सबै परिवर्तन हाम्रो आन्दोलनको जगमा बनेको हो, त्यसको रक्षा माओवादीले मात्र गर्नसक्छ ।’

इतिहासबाट जनताको चेतना धेरै अघि बढेको बताउँदै प्रचण्डले पूर्वराजाले बोलेका कुरामा खासै प्रतिक्रिया दिन आवश्यक नरहेको टिप्पणी गरे । अब राजतन्त्र नेपालमा कुनै अवस्थामा फर्कन नसक्ने दावी गर्दै उनले अझ अगाडि जाने बताए । माओवादी बढ्ने भयो भनेर नोकरशाह र दलाललाई मन नपरकोले पार्टीमा विवाद रहेको प्रचारबाजी भएको भन्दै प्रचण्डले पार्टी एकताबद्ध भएर अभियानमा सिंगो टिम अगाडि बढेको बताए ।

अहिले माओवादीको ध्यान सरकारमा नरहेको बताउँदै प्रचण्डले २०८४ सम्म काँग्रेस–एमालेको गठबन्धन र सरकार चलिरहोस् भन्ने चाहना रहेको दावी गरे । ‘हाम्रो ध्यान अब सरकारमा छैन, जनतामै गइसकेका छौ र जनतामै रहन्छौं’ उनले भने, ‘तर, भ्रष्टाचार, कुशासन, कमिसन र बिचौलियाको संरक्षणमा मात्र केन्द्रित रहेको सरकार आफ्नै बोझले थिचिएकोले कुनै पनि बेला भासिने चिन्ता रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर