खबर पूर्वाञ्चल
नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गरेको आरोपमा भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा संखुवासभा पाँचखपन गाउँपालिका–५ खपनटोल निवासी ५६ वर्षीय कृष्णबहादुर तामाङ, झापा तोपगाछी गाउँपालिका १ का ५२ वर्षीय अशोक तामाङ, कन्काई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय ढकलबहादुर थिङ्ग, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी गाउँपालिका–३ बाघडाँडा बस्ने ६६ वर्षीय रामबहादुर कन्दङ्वा, भारतको बंगालस्थित नक्सालवाडीका ५१ वर्षीय नारायण गुरुङ, नक्सलबाडीका ३४ वर्षीय सञ्जय शर्मा रहेका छन् ।
पक्राउ परेका आरोपितहरुलाई मोरङ प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरुको समूहले पूर्वका विभिन्न जिल्लामा नक्कली सुनका टिल (बिस्कुट) बोकेर सर्वसाधारणसँग चिनजान गर्ने र त्यसपछि आफन्त भएर नजिकीदै ठगी गर्ने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले बताए । ‘आफन्त भएपछि उनीहरुको असजिलो बुझेर नक्कली सुन देखाउने, पैसा भएको थाहा पाए झुक्याएर चोरी गरेर फरार हुने गरेको खुलेको छ,’ उनले भने, ‘होटलमा बस्दा समेत उनीहरुले आफ्नो पहिचान बदल्ने र बारम्बार होटल परिवर्तन गर्ने गरेको पाइएको छ ।’
उनीहरुले विभिन्न जिल्लाका अस्पताल, मेला, हटिया तथा भीडमा सुटबुटमा सजिएर अपरिचितलाई समेत आफन्त बनाएर ठगीधन्दा चलाउने गरेको प्रहरीले जनाएको छ ।