animated ellipse animated ellipse

कोशी अस्पतालको ढल नालामा प्रकरण : पत्र काटेर झारो टार्दै महानगर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ मंसिर २०८१, बुधबार १८:४६
45
Shares
विराटनगर/ सडकको नालामा ढल मिसाउनेबाट लाखौं रुपैयाँ जरिवाना असुल्दै आएको विराटनगर महानगरपालिका कोशी अस्पतालप्रति उस्तै प्रकृतिको घटनामा भने पत्र काटेर झारो टार्ने काम मात्रै गरेको छ ।

विराटनगरको गोल्डेन अस्पताल र मोर्डन एरा स्कुलले नालामा ढल मिसाएको आरोपमा ५० हजार रुपैयाँसम्म जरिवाना गरेको महानगरपालिकाले कोशी अस्पतालको हकमा सुधारको लागि पत्र लेखेर झारो टार्ने काम गरेको हो । विराटनगर महानगरपालिकाले कोशी अस्पतालको शौचालयबाट निस्किने फोहर व्यवस्थापनको लागि २० दिनको समयसीमा दिएको छ ।

महानगरपालिकाले पत्र लेखेर मंसिर मसान्तसम्म अस्पतालबाट निस्किने फोहर व्यवस्थापन नभए फोहर मैला व्यवस्थापन कार्यविधि–२०८१ बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढने जानकारी गराएको हो ।

‘कोशी अस्पतालको फोहरमैला तथा शौचालयबाट निस्कने फोहरका विषयमा विभिन्न संचार माध्यमले समेत विषय उठान भएको हुंदा अस्पतालबाट निस्कने विविध प्रकारका फोहर तथा शौचालयबाट निस्कने फोहर व्यवस्थापन गर्न र नाला तथा सार्वजनिक स्थानमा विषर्जन नगर्न÷नगराउन अनुरोध गर्दछु । अतः २०८१ मंसिर मसान्त सम्ममा दुवै प्रकारका फोहर व्यवस्थापन नभएमा फोहर मैला व्यवस्थापन कार्यविधि–२०८१ बमोजिम कारवाहिको प्रकृया हुने व्यहोरा समेत अनुरोध छ,’ महानगरपालिकाले अस्पताललाई काटेको पत्रमा उल्ेलखछ ।

महानगरपालिकाका प्रमुख नागेश कोइराला सञ्चालक समितिका सदस्य भएकै कारण कोशी अस्पतालले कयौं महिनादेखि सडक नालामा शौचालयको फोहोर बगाउँदा कुनै कारवाही गर्न चासोसमेत देखाएको थिएन । महानगरपालिकामा शौचालयबाट निस्किने फोहरजन्य बस्तुको अनुगमन बातवरण तथा विपद व्यवस्थापन समितले गर्दछ । यसअघि अनुगमनको क्रममा शौचालय जन्य फोहर नालामा सिमाएको भेटिए सम्बन्धित निकायलाई सिधै जरिवना गर्दै आएको छ । तर, विराटनगर महानगरपालिकाले दोस्रो पटक भन्दै पत्र काट्दा कर्मचारीपनि आस्चर्यमा परेको बताए । ‘शैचालय जन्य फोहर सिधै नालामा हाल्दा यसअघि ५० हजार भन्दा बढी जरिवना गरिएको छ । गत वर्षमात्रै मोर्डन एरालाई ४५ हजार रुपैयाँ जरिवना गरिएको छ । अनुगमनको क्रममा कोशी अस्पतलाले शौचालयजन्य फोहर नालामा हालेको भेटिएपछि यसअघि नै सचेत गराएको थियो । अहिले तत्काल जरिवना गर्नुपर्नेमा समयसीमा दिएर सुधारको पत्र लेख्नुपर्ने जरुरीनै थिएन,’ महानगरपालिकाका एक जना कर्मचारीले भने ।

अस्पतालको यस्तो लापरवाहीविरुद्ध भने विराटनगर महानगरले कुनै कारवाही नगरी उन्मुक्ति दिँदै आएको छ । कोशी अस्पतालमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला पदेन सञ्चालक समिति सदस्य छन् । सोही कारणले गर्दा मानव स्वास्थ्यमा गम्भीर असर हुने गरी अस्पतालको शौच नालामा हालेको जानकारी पाएर पनि महानगरले कारावही गर्नुको साटो झारो टार्ने पत्र लेख्ने गरेको छ ।

यस विषयमा विराटनगर महानगरपालिका सरसफाइ महाशाखाका प्रमुख पुनम दाहालले दुई दिनभित्रमा अस्पतालको शौचालयबाट निस्किने फोहरजन्य बस्तुको व्यवस्थापन नगरे कारवाही गरिने बताए ।

अस्पतालभित्रको विभिन्न भवनमा रहेको शौचालयको दिसा पिसाब सिधै सडक नालामा बगाउँदा जनस्वास्थ्यमा असर परिरहेको छ । सडक दुर्गन्धित हुनुका साथै विभिन्न संक्रमणहरु फैलिनाले स्थानीय र सेवाग्राहीहरु प्रभावित भइरहेका छन् ।

कोशी अस्पतालमा करिब आधा दर्जन संख्यामा रहेको भवनमा जोडिएका १० वटा सेफ्टी ट्यांकी छन् । जसमध्ये आकस्मिक कक्ष, मेडिकल भवन, हाडजोर्नी तथा नसा रोग विभाग र आइसीयु रहेको भवनका शौचालयबाट निस्किएको दिसा पिसाब सिधै सडकको नालामा बगाइने गरिएको छ ।

आकस्मिक कक्षदेखि पछाडितर्फ र कोशी अस्पतालको क्यान्टिन भएको ठाउँबाट करिब पाँच मिटर पश्चिमको नालामा शौचालयको फोहोर मिसाउने गरेको पाइएको हो । जनस्वास्थ्यलाई गम्भीर असर पर्ने दिसाजन्य फोहोर नालामा फाल्दा अस्पताल परिसर र बाहिरी वातावरण प्रदूषित छ । सरसफाइ र त्यसका लागि नियुक्त गरिएका सफाई कर्मचारीका लागि वार्षिक दुई करोड रुपैयाँभन्दा बढी खर्च गरिरहेको अस्पतालले दिसा, पिसाब व्यवस्थापनका लागि मात्र बर्षेनि लाखौं रुपैयाँ खर्च गर्दै आएको छ । तर, सेफ्टी ट्यांकी सफाईका लागि कति खर्च भएको छ भन्ने विवरण भने अस्पतालले उपलब्ध गराएको छैन । दैनिक ३ हजारभन्दा बढी बिरामी, कुरुवा र कर्मचारीहरुको उपस्थिति हुने अस्पतालबाट निस्किने दिसाजन्य फोहोर बगाउन विराटनगर महानगरपालिकाको व्यवस्थित ढल प्रणाली कोशी अस्पतालसम्मै पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर