खबर पूर्वाञ्चल
पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या भएको अवस्थामा शव भेटिएको हो ।
प्रहरीका अनुसार आज विहान हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव भेटिएको जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले आफ्नै घरको प्यासेजमा चन्द्रबहादुरको शव भेटिएको जानकारी दिए । डीएसपी दाहालका अनुसार धारिलो हतियार प्रहारबाट हत्या भएको देखिएको छ ।
रगतमा डुबिरहेको अवस्थामा शव फेला परेको छ,’ उनले भने, ‘मृतकको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेका चोटहरु छन् ।’ दाहालका अनुसार शवनजिकै रगत लतपतिएको अवस्थामा धारिलो हतियार खुर्पा पनि फेला परेको छ ।
घटनाको प्रकृति हेर्दा खुर्पाले प्रहार गरेर चन्द्रबहादुरको हत्या गरेजस्तो देखिने डीएसपी दाहालले बताए । स्थानीयले घटनाको जानकारी दिएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।
घरमा चन्द्रबहादुर र उनको ज्वाईं अन्दाजी २५ वर्षीय रविन राई बस्दै आएका थिए । घटनापछि ज्वाईं रविन फरार रहेको छन् ।
चन्द्रबहादुरकी श्रीमती र छोरी (रविनकी पत्नी) वैदेशिक रोजगारीमा छन् । घरमा भने ज्वाईं ससुरा मात्रै बस्दै आएका थिए । रविनको घर पनि ससुरालीको छेउमै छ ।
चन्द्रबहादुरका २ छोरा, १ छोरी र पत्नी छन् । पत्नी र छोराछोरी सबै जना विदेशमा रहेको डीएसपी दाहालले बताए । उनका अनुसार दुवै जना (ज्वाईं ससुरा) शुक्रबार राति घरमै मदिरा सेवन गरेर बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको र घटनाको वास्तविकता अनुसन्धानपछि मात्रै पत्ता लाग्ने डीएसपी दाहालले बताए ।