खबर पूर्वाञ्चल
आज विराटनगरमा बोर्डले कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईको उपस्थितीमा सरोकारवालाहरूसँग अन्तरक्रिया सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै मन्त्री राईले कोशी प्रदेशले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिकतम पदक जित्ने गरी तयारीमा लाग्ने बताए।
मन्त्री राईले प्रदेशका खेलकुद क्षेत्रका सबै सरोकारवालाहरूले एकताका साथ कोशी प्रदेशलाई पहिलो स्थानमा पुर्याउने गरी आवश्यक तयारी गर्नुपर्ने बताए । “राई माइलाले गाँउ छोड्यो भनेर अब बिलौना गर्ने समय होइन ” मन्त्री राईले भन्नुभयो “खेलाडी माइला माइलीहरूले गाँउमै बसेर खेल क्षेत्रमा रमाउने वातावरण कोशी प्रदेश सरकारले बनाउँछ ।”
कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकहरूलाई बोर्डले सहयोग गर्न कुनै पनि कसर बाँकी नराख्ने बताए।
बस्नेतले जिल्ला खेलकुद विकास समितिमार्फत प्रत्येक जिल्लामा खेल सङ्घहरूको सहकार्य र समन्वयमा प्रतियोगिता लक्षित आयोजना अघि बढाउने जानकारी गराए।
कार्यक्रममा बोल्दै कोशी प्रदेश गल्फ सङ्घका अध्यक्ष सुयेश प्याकुरेलले सरकारले खेलकुद क्षेत्रमा भने जति लगानी गर्न नसकिरहेको अवस्थामा निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न आग्रह गरे।
प्याकुरेलले निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तरगत खेल क्षेत्रमा लगानी बढाउनु सरकारले प्रोत्साहन गर्नुपर्ने बताए।
त्यस्तै कोशी फुटवल सङ्घका अध्यक्ष किशोर राईले खेलाडीले खेलेरै जीवन निर्वाह गर्न सक्ने अवस्था निर्माण गर्न सबैले दत्तचित्त भएर लाग्नुपर्ने बताए। राईले सामाजिक विकास मन्त्रालयले ५० वर्षअघिको अवस्थामा सम्झेर नभएर ५० वर्षपछिको योजना बनाएर खेलकुद क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए।
प्रदेशका १४ वटा जिल्लाका जिल्ला खेलकुद विकास समितिको प्रतिनिधित्व गर्दै झापाका अध्यक्ष प्रशान्त भण्डारीले खेलकुदमा जनशक्तिको अभाव पूर्ति गर्न मन्त्रालयले तत्काल नयाँ प्रशिक्षकरूको नियुक्ति गर्नुपर्ने बताए।
भण्डारीले मन्त्रालयलाई बोर्डमार्फत् राष्ट्रिय खेलकुदमा धेरै भन्दा धेरै पदक जित्न जिल्ला खेलकुद विकास समितिलाई विश्वासमा लिएर योजना बनाउन आग्रह गरे।
अन्तरक्रिया कार्यक्रममा बोर्डका सदस्य तथा विभिन्न खेलकुद सङ्घका प्रदेश अध्यक्ष, सचिव, खेलका प्रशिक्षकहरू ,१४ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।