animated ellipse animated ellipse

गरिब जनताका छोराछोरीको उपचार खर्च सरकारले गर्ने भन्ने विषय धान्न नसकिने भन्दै काटिनु दुःखद् र आपत्तिजनक : पूर्वमुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ श्रावण २०८१, बुधबार १८:२०
90
Shares
विराटनगर / कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता केदार कार्कीले आफु मुख्यमन्त्री भएको बेला १० वर्ष मुनिका बालवालिकाको उपचार निःशुल्क गर्ने कार्यक्रम वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पालामा काटिएपछि आपत्ति जनाएका छन् ।

कोशी प्रदेशसभा सचिवालयमा आज पत्रकार सम्मेलन गर्दै पूर्वमुख्यमन्त्री कार्कीले यस्तो गुनोसो गरेका हुन् ।

‘गरिब जनताका छोराछोरीको उपचार खर्च सरकारले गर्ने भन्ने विषय धान्न नसकिने भन्दै काटिनु दुःखद् र आपत्तिजनक छ’, पूर्वमुख्यमन्त्री कार्कीले भने ।

दश वर्ष मुनिका बालबालिकाहरूको सबै उपचार प्रदेश सरकारले गर्ने घोषणा गरेका कार्कीकै कार्यकालमा यो कार्यक्रम कार्यान्वयनमा गएको थियो । १० वर्षमुनिका बालबालिकालाई निःशुल्क विशेषज्ञ चिकित्सकीय सेवासम्बन्धी मार्गदर्शन २०८० कार्यक्रम १५ माघ २०८० बाट मोरङको तीन र झापाको दुईओटा हस्पिटलबाट सेवा सुरू भएपछि वैशाखसम्म चार महिनामा ४ हजार १ सय ८२ जना बालबालिकाको निःशुल्क उपचार भएको थियो ।

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज, विराट टिचिङ हस्पिटल र हाम्रो अस्पतालबाट सेवा प्रदान गर्दै आएको थियो । झापाको दमकस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड अस्पताल र प्रादेशिक अस्पताल भद्रपुरमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने सम्झौता थियो । यी अस्पतालहरूमा उपचार गराउने बालबालिकाका अभिभावकले बिल पेश गरेपछि प्रदेश सरकारले सबै खर्च व्यहोथ्र्यो । तर, एमाले नेता हिक्मत कार्की मुख्यमन्त्री बनेपछि ‘खर्च धान्न नसकिने’ भन्दै यो कार्यक्रम कटौती गरेका थिए ।

आफ्नो कार्यकालमा यो कार्यक्रमबाट लाभान्वित हुने बालबालिकाको नाम र रोग समेत सुनाएका केदार कार्कीले अहिलेको सरकारले त्यो योजना काटेको तर मन्त्री र मुख्यमन्त्रीहरूको सुविधा र गाडीहरू भने थपेको आरोप लगाए । ‘गरिब जनताका छोराछोरीको उपचार खर्च सरकारले गर्ने भन्ने विषय धान्न नसकिने भन्दै काटिनु दुःखद् छ’, पूर्वमुख्यमन्त्री कार्कीले भने, ‘आफ्नो घर भएको गौरादहको पोखरीमा करोडौं बजेट खन्याउन सक्ने मुख्यमन्त्री, गाडी किन्न मात्रै १५ करोड बजेट छुट्याउन सक्ने मुख्यमन्त्रीले जनताका छोराछोरीको उपचार खर्च धान्न सकिन्न भन्नु आपत्तिजनक छ । यो बजेट मुख्यमन्त्री र मन्त्रीहरूको पेवा होइन ।’

पूर्वमुख्यमन्त्री कार्कीले आफ्नो कार्यकालको पाँच महिनामा बालबालिकाको उपचारमा ५ करोड खर्च भएको र वर्षभरीमा जम्मा १५–१६ करोड खर्च हुने उनको भनाइ थियो । ‘सरकारी अस्पतालहरूमा सबै सेवा छैन । तत्काल सेवा सुरू गर्ने अवस्था पनि छैन । यस्तो बेलामा विशिष्टीकृत सेवा लिएका बालबालिकाको खर्च सरकारले व्यहोर्ने हो, जनताको पैसा जनताकै हितमा खर्च गर्ने हो,’ उनले भने ।

कांग्रेस नेता कार्कीले हालका मुख्यमन्त्री कार्कीले सवारी खरिद गर्ने, गाउँको पोखरीमा पैसा खन्याउने काम गरिरहेको बताए । ‘यस्ता अनुत्पादक क्षेत्रमा लगाउने बजेट भन्दा प्रदेशका बालबालिकाको स्वास्थ्यमा लगाइएको बजेट धेरै अर्थमा फलदायी हुन्छ । तर, त्यही पैसा काटेर मुख्यमन्त्रीले सेटिङ मिल्ने ठाउँहरूमा बजेट खन्याएका छन् । यसविरूद्ध म संघर्ष गर्छु ,’ उनले भने, ‘लोकतान्त्रिक स्वरूपमा मेरो संघर्ष हुनेछ । पार्टी सरकारमा छ भनेर म मनपरी हेरेर बस्न सक्दिनँ ।’

सत्ता गठबन्धन फेरिएर कांग्रेस र एमाले मिलेर सरकार बनाइसकेको र प्रदेशमा समेत एमालेकै नेता कार्की नेतृत्वको सरकारमा पार्टी सहभागी हुनै लागेका बेला पूर्वमुख्यमन्त्री कार्कीले यस्तो आरोप लगाएका छन् ।

जहाँ–जहाँ सेटिङ मिलेको छ, मुख्यमन्त्री हिक्मत कार्कीले यस पटकको बजेट त्यहाँ–त्यहाँ हालेका छन्,’ उनले भने, ‘तर, जुन बजेटबाट जनताले सेवा पाउने थिए, त्यही–त्यही बजेट चाहिँ काटिएको छ । यो मनपरीविरूद्ध म संघर्ष गर्छु। पार्टी सरकारमा सामेल हुँदैछ भनेर मनपरी सहेर बसिन्न।’

गत वर्ष कांग्रेसमा विद्रोह गरेर एमालेकै समर्थनमा प्रदेशको मुख्यमन्त्री बनेका कांग्रेस नेता कार्कीले सरकारमा छँदा केही लोकप्रिय कार्यक्रमहरू घोषणा गरेर कार्यान्वयनमा लगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर