खबर पूर्वाञ्चल
आज राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्रीमा नियुक्त ओलीको सपथ सोमबार बिहान ११ बजेका लागि तयारी गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
७३ वर्षीय ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् । कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सरकार गठनको सहमति भएको थियो ।
सोही सहमतिअनुसार पहिलो कार्यकालका लागि ओली प्रधानमन्त्री बनेका हुन् । भोलि नै मन्त्रीहरु पनि नियुक्ति गर्ने तयारी भएको नेताहरु बताउँछन् ।