खबर पूर्वाञ्चल
कोशी प्रदेशबाट अन्तर-प्रदेश राष्ट्रिय खेलकुद र १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बार्डले भोली नगदसहित सम्मान गर्न लागेको हो ।
खेलाडी सम्मानका विषयमा बोर्डले आज विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको छ । बोर्डका सदस्यसचिव पर्शुराम बस्नेतले कोशी प्रदेशबाट अन्तर-प्रदेश राष्ट्रिय खेलकुद र १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, सम्बन्धित खेल प्रशिक्षक र व्यवस्थापकहरुलाई नगदसहित सम्मान गर्ने जानकारी दिए । सोही अवसरमा प्रदेशमा खेल क्षेत्रमा कलम चलाउँने ९ जना खेलकुद पत्रकारलाई समेत सम्मान गर्ने जनाएको छ ।
करिब दुई सय जनालाई सम्मान गर्ने तयारी रहेको बस्नेतले बताए । यस वर्ष छोटो समयमा खेलकुद विकास बोर्डले धेरै प्रतियोगितामा सञ्चालन गर्न बाध्य भएको बताउँदै उनले आगामी वर्षदेखि वार्षिक क्यालेण्डेर बनाएर प्रदेशमा खेलकुदका गतिविधि अगाडी बढाइने जानकारी दिए ।
जिल्ला खेलकुद विकास समितिहरुमा आवश्यक खेल प्रशिक्षकहरुको व्यवस्था गरेर प्रदेशमा खेलाडी उत्पादनलाई प्राथमिकतामा राखेर बोर्डले काम गर्ने सचिव बस्नेतको भनाइ छ । यसैगरी राष्ट्रिय खेलकुद परिषद् मातहत रहेका कर्मचारीहरुको समायोजन र सम्पत्ति हस्तान्तरणको कामलाई पनि तीव्रताका साथ अघि बढाउने उनले बताए ।
बस्नेतले विराटनगर १९ मा रहेको वैजनाथपुरमा रहेको क्रिकेट मैदानलाई केन्द्रसँग समन्वय गरेर प्रदेश सरकारको मातहतमा ल्याउन र निर्माण कार्य सम्पन्न गर्न पहल गर्ने बताए ।
आगामी वर्षदेखि खेलाडीको उत्पादन गर्न ग्रासरुट कार्यक्रमलाई प्राथमिकतामा राखेर नियमित प्रतियोगिता सञ्चालन गर्ने र विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई पनि विशेष जोड दिने सदस्यसचिव बस्नेतको भनाइ छ ।