खबर पूर्वाञ्चल
विगत सात वर्षदेखि कोशी अस्पतालमा निःशुल्क शल्यक्रिया हुने गरेको हो । तीन वर्षमा २४८ जनाको शल्यक्रिया गरिएको अस्पतालका फोकल प्रशन डा. क्षितिज गिरीले जानकारी दिए । प्रत्येक वर्ष कोशी अस्पतालमा हाइड्रोसिलको उपचार गर्ने विरामीको संख्या बढ्दै गएको उनले बताए । आर्थिक वर्ष २०७८/०७९ मा कोशी अस्पतालमा ६२ जना हाइड्रोसिलका विरामीको शल्यक्रिया गरिएको छ ।
आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० मा ६५ जनाको लक्ष्य लिएकोमा ८४ जना हाइड्रोसील भएका बिरामीको शल्यक्रिया गरिएको कोशी अस्पतालका मेडिकल अधिकृत गोविन्द कटुवालले बताए । चालु आर्थिक वर्ष २०८०/०८१ मा १३० जना हाइड्रोसीलका बिरामीको शल्यक्रिया गरिने लक्ष्य रहेकोमा १२४ जनाको गरिएको छ । नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो । कार्यक्रमअन्तर्गत नै कोशीले विगत ७ वर्षदेखि निःशुल्क सेवा सुरु गरेको हो ।
सरकारले प्रत्येक अस्पताललाई एक जना बिरामीको शल्यक्रिया गरेबापत ७ हजार रुपैयाँ उपलब्ध गराउँदैं आएको छ । उक्त रकम बिरामीको शल्यक्रिया र औषधीका लागि पुग्नेछ । कोशी अस्पतालमा हाइड्रोसिलका विरामीको निःशुल्क उपचार हुन्छ भन्ने जानकारी नपाएको कारणले गर्दा पनि लक्ष्य अनुसार नआएको कोशी अस्पतालका मेसु डा.रविराज सिंहले बताए । अस्पतालले हाइड्रोसिलका विरामीको लागि स्वास्थ्य शिविर पनि गर्दै आएको बताए । ‘शिविर गरेर हाइड्रोसिलका विरामीको स्क्रिनिङ गरिन्छ । त्यसपछि अप्रेसन गरिनुपर्ने विरामीलाई कोशीमा ल्याएर निःशुल्क गर्दै आएका छौं,’ उनले भने ।
तपाईको प्रतिक्रिया