खबर पूर्वाञ्चल
सन् २०३० भित्रमा नेपाललाई बालविवाह मुक्त राष्ट्र घोषणा गर्ने अभियानलाई सफल बनाउन इटहरीका २० वटै वडाहरुमा ‘स्मार्ट छोरी परियोजना’ शुरु गरिएको यूवा विकास केन्द्र (वाईडीसी) का कार्यक्रम संयोजक नवल रिजालले जानकारी दिए। आज विराटनगरमा आयोजित बालविवाह न्युनीकरणका लागि प्रदेश सम्मेलन कार्यक्रममा उनले सो जानकारी दिएका हुन्।
यूवा विकास केन्द्रले सन् २०१७ देखि इटहरीका ४ वटा वडाहरु ७, ८, १० र १४ मा बालविवाह न्युनीकरण कार्यक्रम शुरु गरेको थियो । ४ वटा वडाहरुमा गर्रिको सर्वेक्षणमा मुसहर समुदायका ६० प्रतिशत बालिकाहरुको उमेर नपुग्दै विवाह हुने गरेको तथ्यका आधारमा कार्यक्रम शुरु गरिएको कार्यक्रम संयोजक रिजालले बताउनुभयो । उहाँले भन्नुभयो,‘ झण्डै ७ वर्षको अवधिमा ६० प्रतिशतलाई शुन्यमा पुर्याएका छौं ।’
४ वडा वडामा अभियान सफल भएपछि अहिले इटहरी उपमहानगरपालिकाको सहयोगमा सवै वडामा कार्यक्रम शुरु गरिएको उनले बताए। प्रदेश सम्मेलनका क्रममा यूवा विकास केन्द्रले बालविवाह मुक्त इटहरी बनाउनका लागि किशोर , किशोरी अभिभावक, टोल विकास समिचि, बाल तथा यूवा सामुदायिक क्लव, नेपाल प्रहरी, स्थानीय सरकारमा बालविवाह न्युनीकरणका लागि निरन्तर छलफल, तालिम लगायतका कार्यक्रमहरु गर्दै आएको जानकारी गराईएको थियो ।
प्रदेश सम्मेलनमा सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त बनाउनका लागि साझेदार संस्थाहरुको सक्रिय सहभागिता आवस्यक रहेकोमा जोड दिईएको थियो । कार्यक्रममा मानव अधिकार आयोगका कोशी प्रदेश निर्देशक पवन भट्ट, कोकन अध्यक्ष मञ्जिता उपाध्याय, मानव अधिकार संजाल विराटनगरका संयोजक विनोद पोखरेल, सिविन विराटनगरका प्रमुख बासु अधिकारीलगायतले बालविवाह मुक्त राष्ट्र बनाउने सरकारको अभियानलाई सफल पार्नु पर्नेमा जोड दिए।