खानेपानीको निर्वाचनलाई लिएर एमाले मोरङमा बाडमैलो, बागी उठाएको आरोपमा एमाले विराटनगरका अध्यक्ष सागर थापासहित ३ जना निष्कासित
पूर्वाञ्चल खबर
३२ जेष्ठ २०८१, शुक्रबार २०:१२
576
Shares
विराटनगर / विराटनगरमा रहेको मानगढ खानेपानीको निर्वाचनको विषयलाई लिएर नेकपा एमाले मोरङमा विवाद सृजना भएको छ ।
खानेपानीको निर्वाचनमा पार्टीले उठाएको उम्मेदवारको विरुद्धमा बागी उम्मेदवार उठाएको भन्दै एमाले विराटनगर महानगरपालिकाका अध्यक्ष सागर थापासहित ३ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको छ ।
एमाले जिल्ला कमिटीले महानगरका उपसचिव नवराज नेपाल र महानगर वडा नम्बर ३ पार्टीका अध्यक्ष लालमणि भट्टराईलाई आज पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरिएको छ । यस्तै पार्टी कमिटी पदबाट निष्कासन गर्ने गरिको कारबाही गरिएको एमाले मोरङले जनाएको छ ।
विराटनगरमा रहेको मानगढ खानेपानीको निर्वाचनको विषयलाई लिएर महानगरका अध्यक्ष र उपसचिवसहित ३ जनालाई कारबाही गरिएको एमालेले जनाएको छ ।
विराटनगरमा रहेको मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनमा एमालेले राम घिमिरेलाई उम्मेदवार बनाएको थियो । पार्टीको निर्णय विपरीत संस्थाको अध्यक्षमा उम्मेदवारी दिएका थिए । उनको समर्थनमा महानगरका अध्यक्ष सागर थापासहित नवराज नेपालले सहयोग गरेको थिए ।
पार्टी निर्णय विपरीत उम्मेदवार दिएपछि शान्ति लिम्बुको संयोजकत्वमा रविन थापा र काजीबहादुर बस्नेत सदस्य रहेन गरी छानबिन र कारबाहीका लागि कार्यदल बनाएको थियो । सो कार्यदलका सिफारिसका आधारमा तीन जनामाथि कारबाही भएको एमालेले जनाएको छ । यसैगरी मुकेश बुढाथोकीसहित ३ जनालाई २४ घण्टाभित्र स्पष्टीकरण सोधिएको छ ।