खबर पूर्वाञ्चल
डीजि स्कुलसँगको सम्झौतापछि युकेको एनसीसी प्रमाणित कोर्ष पढाई हुने भएको हो । कम्प्यूटर प्रविधिको उत्कृष्ट शिक्षा प्रदान गर्नका लागि यूकेको एनसीसी सर्टिफाइड (प्रमाणित) डिजी स्कुलको कोर्षलाई यस शैक्षिकसत्रबाट अध्ययापन सुरु गर्न लागेको प्रीन्सिपल टिकाराम पुरीले बताए।
प्रविधि, सीप र संस्कारलाई दीर्घकालीन लक्ष्य बनाएर अघि बढेको एभरेष्टले ह्यापिनेश एजुकेसन र डीजी स्कूलको सहकार्य, लक्ष्य प्राप्तिको लागि माईल स्टोन हुने विश्वास लिएको छ ।
ह्यापिनेस एजुकेसनले विद्यार्थीलाई नैतिकवान बनाई दायित्वबोध गराउँदै खुशी रहन सिकाउने तथा कम्प्युटरको यो कोर्षले विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयले जनाएको छ । विद्यालयका सह प्राचार्य नारायण कडरीयाका अनुसार हरेक कक्षा उत्तीर्ण हुँदा विद्यार्थीले एनसीसीको प्रमाणपत्र प्राप्त गर्छन । जुन वेलायतबाट मान्यता प्राप्त हुन्छ । यो कक्षा ३ देखि ८ सम्म अध्यापन गराइन्छ ।
यस्तै पछिल्लो समय सामाजिक मूल्य मान्यतामा आएको र्हास, मानिसमा बढ्दै गएको निराशा, एक्लोपन जस्ता समस्यालाई न्यूनीकरण गर्न ह्यापिनेस एजुकेशनको कक्षा संचालन गर्न लागेको प्राचार्य पुरीले बताए। उनका अनुसार यो शिक्षाले हरेक ब्यक्तिलाई म को हुँ ? मेरो दायित्व के हो ? भन्ने अनुभूति गराउँदै आफुलाई खुशी रहन सिकाउँछ । भारतको नयाँ दिल्लीमा सफल प्रयोग भएको यो कोर्ष कोशी प्रदेशमा एभरेष्टले पहिलोपटक लागू गर्न लागेको हो । यस अघि पनि एभरेष्टले आफ्नै करिकुलममा कक्षा ६-९ सम्म मानव मूल्य शिक्षा अध्यापन गराउँदै आएको छ । यसले विद्यार्थीलाई तनावमुक्त रहन, सकारात्मक सोंचको विकास गर्न, सामाजिक सद्भाव कायम गर्न र आफ्नो जीवन सार्थक बनाउन अभिप्रेरित गरिन्छ ।
आफ्ना विद्यार्थी विश्वस्तरीय हुनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको एभरेष्टले विज्ञान सँग सम्बन्धित खोज, अनुसन्धानमा विद्यार्थीलाई सहयोग गर्न कारखानासँग सहकार्य गर्दै आएको छ । यसले प्रयोगात्मक रूपमा विद्यार्थीलाई अन्वेषण गर्न अभिप्रेरित गर्दछ । यस्तै सानैदिेख ब्यवहारीक शिक्षा प्रदान गर्न रातो बंगलासँगको सहकार्य गरि हरेक शिक्षकलाई तालिम प्रदान गर्दै सोही अनुसार अध्यापन गराउँदै आएको छ ।
भौतिक पूर्वाधारले सम्पन्न एभरेष्टले हरेक कक्षा कोठालाई वातानुकुलित बनाएको छ भने प्रोजेक्टर र कम्प्युटरको माध्यामबाट ब्यबहारिक सिकाई सिकाउने गरेको छ । कम्तिमा २ वटा विषयका अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी हुन अनिवार्य गरेको यस विद्यालयले हरेक खेलकुद र गीत संगितका लागि दक्ष प्रशिक्षक मार्फत नियमित प्रशिक्षण गराउने गरेको छ ।
आफ्नै फुटबल मैदान, बास्केटबल कोर्ट, कबर्ड हल, स्वीमिङ पूल लगायत प्रयाप्त खेल मैदान रहेको एभरेष्टले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि कुनै कसर बाँकी नराख्ने प्राचार्य पुरीले बताए।
फागुन ७ गते एभरेष्ट कार्निभलको दौरान घोषणा गरेका प्रिन्सिपल पुरीले तीन दिन भित्रै सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । विश्वस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ अघि बढेको एभरेष्टका लागि कम्प्यूटर प्रविधि सिकाउने विश्वकै प्रतिष्ठित संस्थासँगको सहकार्यबाट यहाँका विद्यार्थीहरु समेत लाभान्वित हुने उनले विश्वास ब्यक्त गरे। सम्झौतापत्रमा आज डिजी स्कुल नेपालका सिईओ राजु बानियाँ र एभरेष्ट स्कुलका प्रिन्सिपल टिकाराम पुरीले हस्ताक्षर गरे ।
आगामी शैक्षिक सत्रमा कक्षा ३ देखि ८ सम्म डिजी स्कुलको कोर्ष अध्ययापन गराउने तयारी गरेको विद्यालयका भाइस प्रिन्सिपल नारायण कडरीयाले बताए । ‘विद्यार्थीहरूको कम्प्यूटर सीप क्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको एक अत्यधुनिक कार्यक्रम, डिजी स्कूलको सहकार्यसँगै डिजिटल शिक्षामा एभरेष्टले अग्रगामी कदम चालेको छ,’ कडरीयाले भने,‘संसारभर प्रतिष्पर्धि बन्न सक्ने जनशक्ति उत्पादन गर्ने एभरेष्टको लक्ष्यका लागि यो कदम कोशेढुङ्गा हो । सिक्ने अवसरहरू प्रदान गर्न एभरेष्ट प्रतिबद्ध रहेको अर्को प्रमाण पनि हो ।’ प्रविधि, सीप र सस्कारलाई समेत समेटेर अध्यापन गराउँदै आएको एभरेष्टले रातो बंगला फाउण्डेसन र कारखानासँग यसअघि नै सहकार्य गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया