AArya
animated ellipse animated ellipse

महानगरले बरामद गरेको सुर्तीजन्य पदार्थ नष्ट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ पुष २०८०, बुधबार १७:४२
657
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाले बरामद गरेको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ नष्ट गरेको छ ।

विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा लगाएको प्रतिबन्धको बेवास्ता गर्दै बिक्री गरेको फेला पारेपछि महानगरले विभिन्न पसलबाट बराबद गरेको थियो । पछिल्लो समय महानगरले सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा कडाइ गरेको छ ।

महानगरले ऐन नै बनाएर सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य पदार्थको प्रयोगले मानवीय स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै महानगरको सरसफाईमा समेत समस्या देखिएकाले प्रतिबन्ध लगाउनुपरेको मेयर नागेश कोइरालाले बताए । महानगरले आज करिब ५९ किलो सुर्तीजन्य पदार्थ नष्ट गरेको हो । गुट्खा, तुल्सी, खैनीलगायतका सुर्तीजन्य पदार्थ नष्ट गरिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । यसअघि पनि ५३ किलो सुर्तीजन्य पदार्थ नष्ट गरिएको थियो ।

महानगरले पौडेललाई नै सुर्तीजन्य पदार्थको अनुगमनको जिम्मेवारी तोकेको छ । केही दिनअघि एकजना व्यापारीलाई महानगरले १० हजार रुपैयाँ जरिवानासमेत गरेको थियो । पटक–पटकको चेतावनीलाई बेवास्ता गर्दै केही बिक्री गरेको फेला पारेपछि महानगरले ती व्यापारीलाई जरिवाना गरेको जनाएको छ । सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्धपछि विराटनगरमा सरसफाईमा समेत सहयोग पुगेको मेयर कोइरालाको भनाइ थियो । “विराटनगरका सडकहरुमा आज सुर्तीजन्य पदार्थका खोलहरु त्यति देखिँदैन । गुट्खा खाएर थुकेको पनि देखिँदैन,” मेयर कोइरालाले भने, “एकैचोटि निर्मूल नहुन सक्छ तर न्यूनीकरण भएको छ ।

महानगरको यस अभियानमा सहयोग गर्न सबै महानगरवासीलाई आग्रह गर्दछु ।” महानगरले गत वैशाख १ गतेदेखि विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको हो । त्यस्तै साउन १ गतेदेखि भने सुर्तीजन्य पदार्थ बिक्रीको अनुमति खारेज र नयाँ दर्तासमेत बन्द गरेको छ । महानगरले सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनलाई नियन्त्रण गर्न ऐनसमेत जारी गरेको छ । १ हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने ऐनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर