खबर पूर्वाञ्चल
विराटनगरमा आजदेखि सुरू भएको मोरङ व्यापार संघ ट्रेड एक्स्पोको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘बैंक ब्याजदर, लघुवित्त र सहकारीको समस्या हल हुँदै गएको छ । तर, रेमिट्यान्सको भरमा मुदुक चल्नु राम्रो होइन,’ उनले भने । बैंकको ब्याजदर घट्दै गएको, ऋण प्रवाह बढेको, स्थायी तरलताको सुविधा घटाईएको कारण अर्थतन्त्र लयमा फर्किएको उनले बताए । ‘महंगी नियन्त्रणका दृष्टिले यतिबेला हामी २ वर्षयताकै प्रगतिमा छौं । वार्षिक औसत महंगीदर ७.११ प्रतिशत रहेकोमा अघिल्लो महिना त्यसमा कमि आई ५.३८ प्रतिशतमा झरेको छ,’ उनले भने ।
भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै प्रधानन्त्री प्रचण्डले बताए । ‘निर्माण व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको छ । यसले एकातर्फ अर्थतन्त्रलाई चलायमान तुल्याउने छ भने अर्कोतर्फ नयाँ आयोजनाहरुको निर्माण प्रक्रियाले तीव्रता लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैमा महत्वपूर्ण पहल हो,’ उनले भने, ‘एकातर्फ बैंकको ब्याजदर घटाइएको छ भने अर्कोतर्फ बंैकहरुको कर्जा लगानी पनि क्रमशः बढ्दै गएको छ । कर्जाको औसत ब्याजदर १४ महिनापछि १२ प्रतिशतमुनि आएको छ । विगतमा यस्तो ब्याजदर अधिकतम १३.०३ प्रतिशतसम्म पुगेको थियो । कात्तिकमा कर्जाको औसत ब्याजदर ११.९६ प्रतिशत छ ।’
राष्ट्रबैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार नीतिगत ब्याजदर घटाएको उनले बताए । ‘राष्ट्र बैंकले बैंकदरका रुपमा समेत रहेको स्थायी तरलता सुविधाको दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारेको छ । यो आफैमा महत्वपूर्ण सुधार हो । अर्थतन्त्रमा यसको प्रभाव क्रमशः देखिँदै जानेछ,’ उनले भने । पर्यटन क्षेत्रमा पनि सुधार आएको उनको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले आमनागरिक र व्यवसायीको मनोबल उठाउने चुनौति सरकारसामू रहेको बताए । उनले नकारात्मक भाष्य बनाउने फेसन जस्तो बनाउने प्रयास भईरहेको प्रति सचेत हुनुपर्ने बताए । उनले अब नेपाल उज्यालोतिर पनि गईरहेको सन्देश दिनुपर्ने र रचनात्मक आलोचना गर्नतिर लाग्नुपर्नेमा उनको जोड थियो ।
प्रचण्डले विराटनगर कटहरी कार्गाे रेल संचालनको विषयमा भारतबाट आउने उच्च नेतृत्वसँग छलफल गर्ने बताए । उनले विराटनगर विशेष आर्थिक क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले विराटनगर गिरिजाप्रसाद क्रिकेट रंगशाला बनाउने, पूर्वाञ्चल विश्व विद्यालयमा मेडिकल कलेज संचालनका लागि पहल गरेको स्मरण गर्दै विराटनगर चक्रपथ बनाउन आगामि बजेट नीति तथा कार्यक्रममा समेट्ने बताए ।
उनले गिरिजाप्रसाद कोईरालाको नाममा रहेका संघसंस्थालाई सक्दो सहयोग गर्ने उनले बताए । विराटनगर पछि पर्न नहुने बताउँदै त्यको लागि सक्दो सहयोग गर्ने उनले बताए ।
कार्यक्रममा कांग्रेस नेता डा.शेखर कोईरालाले विराटनगर प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेदे पनि कसैसँग केही नमागी अगाडि बढ्दा राज्यले ध्यान नदिएको बताए ।
उनले पञ्चायती कालमा विराटनगरलाई हेला गरे पनि उद्योगी व्यवसायिले बचाएको भन्दै अहिले पनि उनीहरूको विश्वास लिनुपर्ने बताए । कोईरालाले रिङ रोडलाई बहुवर्षेमा राखेर अगाडि बढाउनु पर्ने, विमानस्थललाई अन्तरास्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीले विराटनगरलाई माया गरेजस्तै गरे पुग्ने उनको भनाइ छ । अहिले ४० प्रतिशत सटरहरू बन्द भएको, बैंकले पनि मिटरब्याजी बनेको, कृषि ऋण ५÷६ प्रतिशतमा दिनुपर्नेमा वास्तविक किसानलाई नदिएको उनले दाबी गरे । यो विषयमा राष्ट्र बैंकका गभर्नरलाई राखेर कुरा गर्नु पर्ने प्रधानमन्त्रीलाई सुझाव दिए ।
महोत्सव उद्घाटन कार्यक्रममा विराटनगर महानगर प्रमुख नागेश कोईरालाले पछिल्लो समय विराटनगर पछि परिरहेको बताए । उनले विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल बनाउन आवश्यक भएको बताए ।
उनले विराटनगर जुटमिलको संरक्षण अभाव भएको, विराटनगर रिङ रोड बन्न नसकेको, मालबहाक रेल संचालनमा नआएको, विराटनगर क्षेत्रीय विमानस्थललाई अन्तरास्ट्रिय विमानस्थत बनाउनु पर्ने, क्षेत्रीय उडानहरू विराटनगरबाटै गर्नुपर्ने लगायतका माग गरे ।
कार्यक्रममा बोल्दै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले उद्योगी व्यवसायीहरुले उत्पादन गरेको बस्तु प्रर्दशनको लागि प्रर्दशन स्थल नहुँदा समस्या भएको बताए । राज्यले विराटनगरमा प्रर्दशन स्थल बनाइदिनुपर्ने उनले माग राखे । ‘अहिले प्रर्दशनस्थल नहुँदा अस्थायी संरचनामा करडौं रुपैयाँ खर्च गर्नुपरेको अवस्था रहेको छ,’ उनले भने, ‘त्यसैले विराटनगरमा प्रर्दशन स्थलको लागि राज्यले लगानी गरिदिनुपर्दछ ।’
सोही अवसरमा मोरङ व्यापार संघले प्रचण्डलाई ७ किलोको माला लगाएर अभिनन्द पनि गरेको छ ।
तपाईको प्रतिक्रिया