खबर पूर्वाञ्चल
गत असोज ६, १० र २८ गते विराटनगर १८ र १९ नम्वर वडाबाट हराएका ५ बर्षीय बालक, ११ बर्षीया बालिका र १४ बर्षीय बालकको भारत स्थित किन इण्डिया, शुभअवसर ग्राम नेपालको सहयोगमा उद्धार गरिएको राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ का समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिए । उनका अनुसार उद्धार गरिएका ५ बर्षीय बालक र ११ बर्षीया बालिकालाई परिवारमा पुर्नमिलन गराईएको छ । १४ वर्षीय बालकका परिवार हाल फेला नपरेकाले अस्थायी संरक्षणका लागि सिपीसीएस बेलबारी, मोरङमा राखिएको समन्वय अधिकृत अधिकारीले जानकारी दिए । उनका अनुसार ५ बर्षीय बालकलाई भारत पूर्णीयाबाट धर्मपुत्रका रुपमा पठाउने तयारी गरेको अवस्थामा उद्धार गरिएको हो ।
आर्थिक वर्ष २०६२–०६३ देखि २०७७–०७८ सम्म कोशी प्रदेशबाट १३६ जना बालबालिका हराएका छन् । समन्वय अधिकृत अधिकारीका अनुसार हराएका मध्ये ७१ जना फेला परेको र ६५ जना फेला पर्न बाँकी रहेको छ । आर्थिक वर्ष २०७९–०८० मा समन्वय केन्द्रले अपहरणमा परेकी एक बालिकाको उद्धार गरि पारिवारिक पुर्नमिलन गराएको छ । बेचविखन तथा भारतबाट १५ जना बालबालिकाको उद्धार गरिएको, बेवारिसे अवस्थामा रहेका १३ जना बालबालिकाको उद्धार गरिएको समन्वय अधिकृत अधिकारीले बताए ।