AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङमा काकाद्वारा ७ वर्षीया भतिजीको बलात्कारपछि हत्या

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ असार २०८२, आईतवार २१:५१
1.4k
Shares
विराटनगर /मोरङको धनपालथान गाउँपालिकामा मानवतालाई नै स्तब्ध बनाउने एक दर्दनाक घटना सार्वजनिक भएको छ, जहाँ एक ७ वर्षीया बालिकाको उनकै काकाले बलात्कारपछि हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, अपराध लुकाउने उद्देश्यले बालिकाको हत्या गरी शव फालिएको हो। शनिबार बिहान धनपालथान ५ निवासी अक्षय सरदारकी ७ वर्षीया छोरी आत्तिका सरदारको शव घर नजिकैको दुर्गा आधारभूत विद्यालय जाने बाटोमा विभत्स अवस्थामा फेला परेको थियो। उनको अनुहार, घाँटी र शरीरका विभिन्न भागमा गहिरो चोटपटक देखिएको थियो।

घटनाको अनुसन्धान थालेलगत्तै प्रहरीले शंकाको घेरामा रहेका बालिकाका कान्छा काका अनिष सरदारलाई नियन्त्रणमा लिएको थियो।
यसरी खुल्यो अपराधको रहस्य
प्रहरी स्रोतका अनुसार, अनिषले सुरुमा घटना स्वीकार नगरे पनि अनुसन्धान अगाडि बढ्दै जाँदा उनको संलग्नता पुष्टि हुने प्रमाण भेटिएका छन्। हाल हिरासतमा रहेका उनी मानसिक रूपमा अस्थिर देखिएका छन् र कहिले अपराध स्वीकार्ने त कहिले अस्वीकार गर्ने बयान दिइरहेका छन्। घटना भएको रात बालिकाका आमाबुवा बाहिर रहेकाले हजुरआमाको जिम्मामा थिइन्। काका अनिष नै पीडित बालिका र उनका भाईलाई लिएर सुतेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएअनुसार, उनले मध्यरातमा आफूसँगै सुतेकी भतिजीलाई घरबाहिर लगेर बलात्कार गरेका थिए र पोल खुल्ने डरले हत्या गरेका थिए।
घटनाको क्रूरतालाई लुकाउन अनिषले नै बिहान भतिजी हराइन भन्दै गाउँमा हल्ला मच्चाएका थिए। अर्को घरमा सुतेकी हजुरआमा बिहान उठेर हेर्न आउँदा नातिनीलाई नदेखेपछि गाउँमा खैलाबैला मच्चिएको थियो। खोजी गर्ने क्रममा बालिकाको शव हत्या गरेर फालेको अवस्थामा भेटिएको हो।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले घटना अत्यन्तै संवेदनशील रहेको र प्रमाण संकलनको काम भइरहेको बताइन्। उनले भनिन, घटनामा काकाकै संलग्नता रहेको गहिरो आशंका छ। पोस्टमार्टम रिपोर्ट आएपछि तथ्य थप प्रष्ट हुनेछ। बालिकाको शवको पोस्टमार्टम विराटनगरस्थित कोशी अस्पतालमा गरिएको छ।

पक्राउ परेका अनिषविरुद्ध मृतक बालिकाका हजुरबुबाले दिएको जाहेरीका आधारमा कर्तव्य ज्यान र हाडनाता करणी मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर