animated ellipse animated ellipse

भ्रष्टाचार र दण्डहीनताले जनतामा निराशा बढ्यो : डा. कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ मंसिर २०८०, बुधबार २०:२१
135
Shares
विराटनगर/ नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले भ्रष्टाचार र दण्डहीनता बढेकै कारण नेपाली जनतामा निराशा बढ्दै गएको बताएका छन् ।

मोरङको विराटचोकमा आयोजित नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले गणतन्त्र के लागि भनेर प्रश्न उब्जिएको उल्लेख गरे । “देशमा राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक अराजकता बढ्दै गएको छ,” उनले भने, “दण्डहीनता र भ्रष्टाचार पनि मौलाएको छ । केका लागि र कसका लागि गणतन्त्र भनेर प्रश्न उब्जिएको छ ।”

उच्च नैतिकता र आत्मविश्वासका साथ कांग्रेस अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । उनले नेता कार्यकर्तालाई निराश नहुन आग्रहसमेत गरे । कोइरालाले युवाहरूको विदेश पलायनका कारण नेपाल बुढौलीहरूको देश बन्ने अवस्था देखिएको बताए । पछिल्लो समय अध्ययनका लागिसमेत विदेश जाने युवाहरू बढ्दै गएको उनको भनाइ थियो । गत आर्थिक वर्ष अध्ययनकै लागि १ खर्ब ४२ अर्ब रुपैयाँ बाहिरिएको तथ्यांक प्रस्तुत गर्दै नेता कोइरालाले युवाहरूको विदेशमोह बढ्दै जानु चिन्ताको विषय भएको बताए ।

पूर्वमन्त्री एवं कांग्रेसका नेता महेश आचार्यले अहिले संसद संसदजस्तो र न्यायालय न्यायालयजस्तो नभएको टिप्पणी गरे । “अहिले के संसद संसदजस्तो छ ? न्यायालय न्यायालय जस्तो छ ? वीपीले निर्माण गरेको कांग्रेस कांग्रेस जस्तो छ ?” आचार्यको प्रश्न थियो, “गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था आउनु कांग्रेस त्यति धेरै कमजोर र निरीह भएको हो ?”

त्यस्तै पूर्वमन्त्रीसमेत रहेका नेता डा. मीनेन्द्र रिजालले कांग्रेसले आफ्नै योगदान बिर्सिएको बताए । उनले कस्तुरीले आफ्नो वास्ता खोजे जसरी कांग्रेसले आफ्नो वास्ता खोज्दै हिंड्नुपरेको उल्लेख गरे । “कांग्रेसले देशको प्रजातान्त्रिक आन्दोलन र संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छ,” उनले भने, “तर कांग्रेसले प्रजातन्त्र र देशका लागि गरेको योगदान जनतालाई बुझाउन सकिरहेका छैनौं ।”

१४ महाधिवेशनपछि पहिलोपटक आयोजित सम्मेलनलाई केन्द्रीय सदस्य डा. डीला संग्रौला, कोशी प्रदेशका सांसदद्वय अमृत अर्याल र भीम पराजुली, नेपाली काँग्रस कोशी प्रदेश संसददिय दलका नेता उद्धव थापा, राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझी, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू, विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका उपसभापति नागेश कोइराला, सचिव ललित श्रेष्ठलगायतले कांग्रेसलाई एकढिक्का बनाएर लानुपर्नेमा जोड दिए ।

मोरङका १७ वटै पालिकाका ३ हजार ५५५ जना क्षेत्रीय प्रतिनिधिहरू सहभागी सम्मेलनमा संघीय सरकारका खेलकुदमन्त्रीसमेत रहेका सभापति डिगबहादुर लिम्बूले राजनैतिक, सचिव मोदराज घिमिरेले सांगठानिक र कोषाध्यक्ष रञ्जु अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा कलाकारहरूले विभिन्न सांस्कृतिक नृत्य र गीतसमेत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर