खबर पूर्वाञ्चल
नक्कली बिलबिजक देखाएर सवारी चालक विराटनगर ७ का ४२ वर्षीय जयकुमार राईलाई भारतबाट क्यारिङ गर्ने तस्करको समूहले फसाएको भन्दै रिहाइको माग राखेका हुन् ।
बिहीबार दिउँसो विराटनगर ४ कन्चनबारीबाट सशस्त्र प्रहरी बल मोरङले अवैध रूपमा सुन्दरहरैचा लैजादै गरेको करिब सात लाख ५० हजार रुपैयाँ मूल्य बराबरको कुर्तासलवार बरामद गरेको थियो । सशस्त्रको सादा पोशकका प्रहरीले प्रदेश १–०४–००१ च ०११० नम्बरको बोलेरो पिकअपबाट आठ सय ३४ थान कुर्तासलवार बरामद गरिएको थियो । लत्ताकपडा बरामद गरेको पिकअप राईको हो । उनलाई भारतबाट तस्करी गर्ने दुई जना गिरोहले नक्कली बिलबिजक देखाएर मोरङको सुन्दरहरैचा नगरपालिका ८ सलकपुर स्थित कपडाको पसल गर्ने व्यापारी प्रिया भनिने दुर्गा घिमिरेलाई दिनु भनेर पठाएका थिए । उक्त सामान गन्तब्यसम्म पुर्याउँदा गाडी भाडा बापत उनलाई तीन हजार दिने बताएका थिए । ‘
गाडी लिएर गुद्रीमा बसेको थिए । दुई जना मोटसाइकलमा आए । बिलबिजक देखाए । विराटनगर ६ सरौचियामा रहेको ओमेक्स फेसन होजियारीको पान नम्बर ६१४६७४०२० मा भ्याटसहित ५९ हजार ३२५ रुपैयाँ काटेको बिल थियो । सम्पूर्ण प्रक्रिया पुरा गरेको सामान रहेछ भनेर मैले ९८१०४१८१३१ नम्बरको प्रिया भनिने दुर्गा घिमिरेले संचालन गरेको मनकामना तयारी पोशाकमा लैजान भनेर विराटनगरबाट हिडेको थिए । कन्चनबारी पुग्दा प्रहरीले समायो । यो सामान अवैध हो भनेर प्रहरीले भनेपछि छानाबाट खसेजस्तो भए,’ थुनामा रहेका चालक राईले भने, ‘ म सोझो राइको छोरा । लप्पन छप्पन जान्दिन । मैले त सोझो हिसाबले बिल हेरेपछि तेही अनुसारको सामान होला भनेर लिएर गएको थिए । तर, प्रहरीले समाएपछि सामान त अर्को हालेको रहेछ ।’
दिनभरी सवारी चलाएर आठ जनाको परिवार पाल्ने आर्थिक अवस्था नाजुक भएको परिवारलाई अहिले भन्सारले ७ लाख ५० हजार कपडाको, १५ लाख गाडीको र मान्छेको दिनको ५० हजार गरी झण्डै २३ लाख धरौटि माग्ने बताउँदै आएका छन् । ‘यत्रो पैसाँ कहाँबाट ल्याउनु । घरमा अपाङ्गता भएका विरामी आमा हुनुहन्छ । श्रीमानलाई सुनियोजित तरिकाले फसाएको छ । हामीले सामान ल्याउने मान्छे पनि पत्ता लगाइसक्यो । सम्पूर्ण कागजपत्र प्रहरी प्रशासन र भन्सारलाई पनि बुझाएका छौं ।
क्यारिङ गर्ने र कपडा मगाउने व्यापारीलाई प्रहरीले अहिलेसम्म समाउन सकेको छैन । एउटा सोझो श्रीमानलाई समाएर राखिएको छ,’ श्रीमती सजिना राईले भनिन् । सुनियोजित तरिकाले फसाएको श्रीमानलाई बिना सर्त रिहा भन्सारले गरिनुपर्ने उनले माग राखेकी छिन् ।
भारतबाट कपडाको तस्करी गर्ने विराटनगर दरैयाबस्तीका मिथुन साहको रहेको स्रोतले बताएको छ । मिथुनले पल्सर मोटसाइकलमा सहयोगी परिचालन गरेर सवारी साधनबाट सलकपुरमा कपडाको व्यापार गर्ने प्रियालाई बेचेको बिलबिजकबाट देखिन्छ । सवारी चालक राईका परिवारले क्यारिङ गर्ने र कपडा खरिद गर्ने व्यापारी पहिचान गरिसक्दा पनि सशस्त्र र नेपाल प्रहरीले अहिलेसम्म तस्करी गर्नेलाई पक्राउ गरेको छैन ।
मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेले आफ्नो कार्यक्षेत्रमा नपर्ने भएकाले भन्सारले भनेपछि पक्राउ गर्ने बताए । ‘सशस्त्रले सामान समाएपछि भन्सारमा बुझाएको छ । भन्सारले मुद्दा चलाएपछि बयान हुन्छ । बयानबाट खुलाएपछि भन्सारले पक्राउ गर्नुपर्दा प्रहरीलाई पत्रचार गर्ने हो । नेपाल प्रहरीलाई पक्राउ गर्ने सहयोग मागेपछि हामीले नियन्त्रणमा लिएर भन्सारमा बुझाउने हो,’ एसपी पोखरेलले भने ।