सामुदायिक विद्यालयको प्रतिस्पर्धी क्षमतासँगै गुणस्तर वृद्धि गर्नु आवश्यक छ : मेयर कोइराला

खबर पूर्वाञ्चल, २९ भाद्र २०८०, शुक्रबार १५:४९
108
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको प्रतिस्पर्धी क्षमता र गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

विराटनगरस्थित गोग्राहा माविले आयोजना गरेको सम्मान, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले अध्ययन र अतिरिक्त क्रियाकलापको प्रतिस्पर्धी क्षमता वृद्धिसँगै गुणस्तरमा समेत सुधार ल्याउन आवश्यक रहेको उल्लेख गरे । उनले राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरे पनि प्रतिफल अझै प्राप्त हुन नसकेको जिकिर गरे ।

उनले विद्यार्थीमा व्यवहारिक, सीपमूलक र नैतिक शिक्षाको जरुरी रहेको बताए । सामुदायिक विद्यालयहरुबीच नै गुणस्तरमा प्रतिस्पर्धा हुनुपर्नेमा उनको भनाइ थियो । पछिल्लो समय केही सामुदायिक विद्यालयको गुणस्तर वृद्धि भएकै कारण अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको बताउँदै उनले भने, “सबै सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आउनुपर्छ । अनि मात्रै हामीले उत्पादन गरेका जनशक्ति विश्वको श्रमबजारमा सहजै बिक्री हुन सक्छन् । त्यसका लागि विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षा दिनुपर्छ ।” मेयर कोइरालाले सामुदायिक र निजी विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तर समान हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मेयर कोइरालाले विद्यालयबाट अवकाश प्राप्त गरी विदाई भएका शिक्षकहरु विष्णु भुजेल, श्याम गजुरेल, शंकरप्रसाद दाहाल र डिल्लीप्रसाद कोइरालालाई सम्मान गरे । कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५