खबर पूर्वाञ्चल
शान्तिका लागि निःशस्त्रीकरण विषयक कविता प्रतियोगितामा ३१ जना प्रतिस्पर्धीलाई पछि पार्दै सिम्रिका प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा एञ्जल राई द्वितीय र रितेश भट्टराई तृतीय भए । प्रतियोगितामा संस्कृति कर्ण, अनिशाकुमारी मण्डल, आयुशा खातुन र टोपनाथकुमार साहले सान्त्वना स्थान प्राप्त गरे ।
कवि एवं पत्रकार मीनकुमार नवोदित र क्याम्पसका प्राध्यापक डा. विमलकिशोर श्रीवास्तवको निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको हो । प्रतियोगितामा वाचन गरेका अधिकांश कविताले विश्वशान्ति र मानवताका विषयलाई उठान गरेका थिए ।
प्रतियोगिताका प्रमुख निर्णायकसमेत रहेका नवोदितसहित कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का सञ्चालक सदस्य भूपेन्द्र दाहाल, रामचन्द्र अधिकारी, कार्यक्रम संयोजक नविनकुमार राय, डा.विमकिशोर श्रीवास्तवलगायतले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्षसमेत रहेका नवोदितले पाठ्यक्रमको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे । उनले साहित्य, कला र संगीत कहिल्यै पूर्व नहुने बताए । “राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रधानन्यायाधी, मुख्यसचिव र सचिव जुनसुकै उच्च पदमा पुगे पनि निश्चित समयपछि पूर्व हुन्छ,” कार्यक्रममा नवोदितले भने, “तर साहित्य अर्थात् सिर्जना यस्तो क्षेत्र हो जुन कहिल्यै पूर्व हुँदैन ।”
कलेजका प्रिन्सिपल खड्काले शिक्षादीपले स्थापनाकालदेखि नै विद्यार्थीको सर्वागिण विकासमा ध्यान दिएको सुनाए । खड्काका अनुसार शिक्षादीपले समय–समयमा कविता, वक्तृत्वकला, वादविवाद, हाजिरीजवाफ, खेलकुदसहित विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।