RUMPUM
animated ellipse animated ellipse

झापामा पारिवारिक ‘रिसिइबी’कारण दाजुभाइ मिलेर खन्ती प्रहार गरी सुन्दरीलालको हत्या

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ भाद्र २०८०, शनिबार १८:५७
405
Shares
विराटनगर / झापाको मेचीनगर नगरपालिका – ८ मुनियाँटोलका ३५ वर्षीय सुन्दरीलाल किसानको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुनियाँटोलका ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसान छन्। उनीहरू दाजुभाइ हुन्।

बिहीबार हत्या गरिएको अवस्थामा सुन्दरीलाल किसानको शव मुनियाटोलस्थित हौलीपैनी कल्भर्ट छेउमा भेटिएको थियो। मर्निङ वाक गएका स्थानीयले बाटोमा रगत छरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट डिएसपीको कमाण्डमा प्रहरीको टोली खटिएको थियो। घटनास्थल वरिपरि प्रहरीले फलामको रडबाट बनेको खन्ती बाँगिएको अवस्थामा र एक जोर सेतो रंगको चप्पल फेला पारेको थियो।

सुन्दरलाल किसान अघिल्लो रातदेखि फर्किएर नआएको भन्ने सूचना प्रहरीले पाएको थियो। सुन्दरलालकी श्रीमतीलाई प्रहरीले चप्पल देखाउँदा उनकै हो भनेर सनाखत समेत गरेकी थिइन्।

सडक छेउको खेतमा धान रोपिएका थिए। दक्षिणतर्फको खेतमा कसैलाई घिसारेर लगेको जस्तो देखिएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार सडकमा रगतका टाटा, रड, चप्पल भेटिनु र खेतमा कसैलाई घिसारेको जसरी नाली बन्नाले पनि घटना रहस्यमय बन्दै गएको थियो।

अनुसन्धानको क्रममा प्रहरीले खेत वरिपरि खोजी गरेको थियो। सुरूवाती स्थानबाट झन्डै ६०० फिट दक्षिण पैनीमा रहेको बुट्यान झाडीमा शव फेला परेको थियो। झाडीले छोपेर राखेको र शरीरका विभिन्न भागमा गम्भीर चोट भएको अवस्थामा सुन्दरलालको शव फेला परेको थियो।

त्यसपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट संयुक्त टोली खटिएर अनुसन्धान अघि बढाएको थियो। प्रहरी प्रदेश कार्यालय धरान सुनसरीबाट पनि तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान अघि बढाएको डिएसपी रिजालले बताए।

प्रहरीले स्थानीय व्यक्तिहरूसँग सोधपुछ र प्राविधिक विश्लेषणको आधारमा अनुसन्धान अघि बढाएको थियो। कुकुरले स्निफिङ गर्दा सहोदर दाजुभाइ स्थानीय सुनरसी किसान र रामजी किसान त्यहाँबाट भागिसकेका थिए।

तर फेला परेको खन्ती सुनरसी किसानको हुनुपर्ने जानकारी स्थानीयले दिएका थिए। उनीहरूको खोजी गर्दा भारततर्फ भागिसकेको थाहा पाएको डिएसपी रिजालले बताए।

त्यसपछि आफन्त नातागोताहरूसँग समन्वय गरी उनलाई पुनः नेपाल झिकाएर पक्राउ गरेको उनले बताए। मापसे गरी सुन्दरलालले गालीगलौज गरेकाले हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन्।

‘बुधबार राति ८ बजेतिर सुन्दरलालले मापसे गरी एक्लै हिँड्दै हामी बसिरहेको कल्भर्टमा आएर गालीगलौज गरेका थिए। त्यही निहुँमा झगडा परेपछि रडको खन्ती र सिकल प्रहार गरी हत्या गरेका हौं,’ प्रहरीसमक्ष उनीहरूले भनेका छन्।

हत्यापछि उनीहरूले शवको व्यवस्थापन गर्न कल्भर्टबाट दक्षिण तर्फ रहेको धानखेतमा घिसार्दै होली पैनीमा लगेर झाडीमा छोपेको पनि बताएका छन्।प्रहरीको अनुसन्धानबाट उनीहरू र मृतकबीच लामो समयदेखि पारिवारिक रिसिबी समेत थियो। आरोपितहरूले सुन्दरलालको हत्या गर्ने उद्देश्यका साथ ढुकेर बसेको र हत्या गरेको डिएसपी खगेन्द्र रिजाल बताउँछन्। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर