खबर पूर्वाञ्चल
लगातारको वर्षाले पुलमा रहेको खाल्डोमा पानी जमेको छ । त्यही कारण आवत–जावत गर्ने सवारी साधन र पैदलयात्रीलाई समस्या परेको छ । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोडिने सो पुलको अवस्था जोखिमयुक्त भएको छ । दुवै तर्फ ओहोर—दोहार गर्ने ८ देखि १२ चक्के ठूला ट्रक र कन्टेनर जस्ता सवारी साधन गुड्दा पुल भत्किन सक्ने सम्भावना छ ।
७५—८० वर्ष पुरानो पुल भएको बताउँदै स्थानीय कटहरीका सिन्धु झाले पुलबाट आवत जावत गर्न कठिन हुने गरेको बताए । कटहरीमा आईतबार र बुधबार लाग्ने बुध हटियाको दिन पुलामा धेरै जसो जाम हुने गरेको छ ।
कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरी भन्छन्, ‘उक्त पुलको मर्मत विषयमा हामीलाई कुनै प्रकारको सूचनाहरु दिइएको छैन, महानगरले नै भत्काउने र बनाउने कार्य आफैले गर्ने गरेकोले हामीलाई केही जानकारी दिँदैनन् ।’ नयाँ पुल निर्माण कार्य सुरु गरिएको भएपनि लामो समयदेखि निमार्ण कार्य ठप्प छ ।