खबर पूर्वाञ्चल
कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनको क्रममा निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि पक्राउ परेका २७ जना पहिचानवादी नेता तथा कार्यकताहरु आज साँझ रिहा भएका हुन् ।
१४ जेठमा विराटनगरस्थित देवकोटा चोकदेखि पक्राउ परेका २७ जना पहिचानवादी नेता तथा कार्यकताहरु पक्राउ परेका थिए । पक्राउ परेको १८ घण्टापछि रिहा भएका छन् । यसरी रिहा हुनेहरूमा अशोक चेम्जोङ, खड्का लिम्बू, कुलप्रसाद लिम्बू, सुकराज लिम्बू, सुकराज थेबे, सञ्जीव लिम्बू, ताराकुमार लिम्बू, मनकुमार थेगिम, आरभी लिम्बू, प्रयास बान्तावा राई, नबीन पोमु, प्रदीप लिम्बू, सिताराम राई रहेका छन् ।
यस्तै, सन्तोष सम्बाहाम्फे, जेबी साँबा, दुर्गा मगर, मनकुमार लिम्बू, शंकर लिम्बू, अमृत राई, प्रमोद लिम्बू, सुमन केरुङ, पदम खेवाङ, रोशन लिम्बू, छविरमण सार्की, कुसुम राई, राजभक्त लिम्बू र मनकुमार माखिम रिहा भएका छन् ।
रिहा भएका पहिचानवादी नेता तथा कार्यकताहरूलाई वडा प्रहरी कार्यालय विराटनगर अगाडी फुल माला र अविरल लगाएर स्वागत गरेका थिए ।
उनीहरूले कोशी प्रदेश खारेजी गरी पहिचानको आधारमा नामाकरण नभएसम्म आन्दोलन जारी रहने बताए । प्रदेश १ पुनः नामाकरण संघर्ष समितिले भोली पनि विराटनगरमा शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताएका छन् ।
उनीहरुले भोली गर्ने भनेको आमहड्ताल भने फिर्ता लिएका छन् । पक्राउ परेका पहिचानवादी नेता तथा कार्यकताहरु रिहा भएपछि आमहडतालको कार्यक्रम फिर्ता लिएपनि शान्तिपूर्ण आन्दोलन जारी रहेको पहिचानवादी तथा एमाओवादी नेता अर्जुन जम्मेली राईले जानकारी दिए । ‘पक्राउ परेका पहिचानवादी नेता तथा कार्यककर्ताहरू बार्तापछि रिहा भएका छन्,’ उनले भने, ‘कोशी प्रदेश खारेजी गरी पहिचानको आधारमा नामाकरण नभएसम्म आन्दोलन भने जारी रहन्छ ।’ नेता तथा कार्यकताहरु रिहाभएपछि उनीहरुले कोशी प्रदेश खारेजी गरी पहिचानको आधारमा नामकरण गर, पहिचान विरोधी होसियारलगायतका नाराबाजी गरेका थिए ।
संघर्ष समितिले आज एक विज्ञाप्ती जारी गर्दै आइतबारको आन्दोलनका क्रममा प्रहरीले ९० जनालाई धरपकड गर्नुका साथै गोली, ढुङ्गा, लाठी प्रहारबाट २५ भन्दा बढी शक्त घाइते बनाएको जनाएको छ । प्रहरीले अस्पतालमा उपचार गराइरहका घाइतेसमेत गरी ८६ जनालाई गरिफतार गरेको भएपनि बार्तापछि रिहा भएका छन् ।
आन्दोलनको क्रममा पदमकुमार लिम्बू ‘लाजेहाङ’ सहिद भइसकेको र प्रहरीको गोली प्रहारबाट घाइते गजेन्द्र फागो उपचाररत रहेको जानकारी दिँदै संघर्ष समितिले प्रहरी दमनबाट १५० भन्दा बढी घाइते भएको जनाएको छ ।